नीति कार्यक्रम र बजेट महात्म्य हुन्, ५ गते पाठ पारायण भयो, अब १५ गते सांगे: सांसद ढकाल



काठमाडौं । प्रतिनिधिसभा सांसद हरि ढकालले नीति तथा कार्यक्रममा सरकार चिप्लिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकार नीति तथा कार्यक्रममा चिप्लिएको र आफूहरुले रचनात्मक सहयोग गरेर लड्न नदिने बताएका हुन् ।

‘चिप्लिदैंमा लडिदैंन’, उनले भने, ‘सरकार नीति प्रस्तुत गर्ने सन्दर्भमा चिप्लिएको छ । हामी रचनात्मक सहयोग गरेर लड्न दिदैनौं भनेको छु । सरकार तयार छ हाम्रो सुझावहरु मान्नलाई ?’

सँगै उनले आफू सांसद बन्नुअघि दर्शकदीर्घमा रहेर नीति तथा कार्यक्रम सुन्दा र अहिले सुन्दा पनि कुनै फरक नपाएको बताएका छन् । उनले २०४८ सालमा प्रस्तुत भएको नीति तथा कार्यक्रम र अहिलेको नीति तथा कार्यक्रम उस्तै भएको बताए ।

उनले भने, ‘यहाँभन्दा फरक केही पनि हुँदैन, पाइनँ । तपाईंलाई मैले प्रस्तुत गरेको यो तथ्यमा विश्वास छैन भने २०४८ सालको असार १७ गते प्रस्तुत भएको नीति कार्यक्रम हेर्नुहोला । यो ३३ वर्ष यहि चल्यो, यहि चलाइयो । यो चलाउन फेरि खोजिदैं छ ।’

उनले संसदमा महात्म्य चल्ने गरेको बताए ।

उनले नीति तथा कार्यक्रम र बजेट महात्म्य भएको र १५ गते सांगे हुने बताए । उनले भने, ‘ महात्म्य पो चल्दो रहेछ । बजेट महात्म्य । सरकार प्रमुखलाई लिएर आएर पारायण पाठ हुँदो रहेछ । गत ५ गते पारायण पाठ भयो । अब १५ गते सांज्ञे । सांज्ञेको दिनमा एकदम यहाँ भरिभराउ हुन्छन् यहाँ सबै जना । सदन भरिभराउ हुन्छ । गेटमा मिडिया पनि हुन्छ ।’

सांसद ढकालले आफूलाई यो तरिका देखेर अनौठो लागेको पनि बताए । उनले बजेटको ‘महात्म्य’ चलेर ‘सांज्ञे’ भएको दिन मन्त्री र सांसदले आफ्नो क्षेत्रमा बजेट पार्न रस्साकस्सी गर्ने तथा बिचौलिया र माफियाले आफ्नो नीति बजेटमा छिराउन रस्साकस्सी गर्ने पनि बताए ।

‘यहि चलेको हो, यहि चल्दैछ’, उनले भने, ‘मन्त्री ज्युहरुलाई मैले खबरदारी गरें, तपाईंहरुले आफ्नो क्षेत्रमा मैले लिएर आएको पैसा भन्नु भयो भने हामी राज्यले हालेको पैसा, खबरदार भन्न जाँदैछौं । रचनात्मक सुझाव प्रस्तुत गर्छु । मैले अर्थमन्त्री ज्युलाई भनेको थिएँ, रचनात्मक सुझाव आवश्यक हो? हामी आउँछौं । तर, अह, वास्तै गर्नुभएन । किनकी यहाँ बजेट महात्म्य न चलेको हो । देश निर्माणका लागि बनाइएको नीति हो र यो? होइन नि । सांज्ञे १५ गते गर्नुछ, बस ।’


क्लिकमान्डु