‘सुकुम्बासी समस्या समाधानमा काठमाडौं महानगरमाथि संघीय सरकारको दोहोरो चरित्र’



काठमाडौं । प्रतिनिधिसभाका सांसद अशोककुमार चौधरीले सुकुम्बासी समस्या समाधानको विषयमा काठमाडौं महानगरपालिकाप्रति संघीय सरकारले दोहोरो चरित्र देखाएको बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै चौधरीले संवीधान, संघीयताको कार्यान्वयन गर्न तीन तहका सरकारबीच अन्तसम्बन्ध मजबुत बनाई नतिजा मुखी र उत्तरदायी बनाइने र साथै भूमिहिन तथा सुकुम्बासी समस्या समाधान गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भए पनि व्यवहारमा त्यस्तो नभएको बताएका छन् ।

‘यसो भनिरहँदा मेरो मानस्पटलमा काठमाडौं महानगरपालिकाको स्थानीय सरकारको झझल्को आइरहेको छ,’ उनले भने, ‘जो महिनौंदेखि स्थानीय सरकारको विषमया केन्द्रीय सरकारसँग ताकेता गरिरहेको छ भने केन्द्रीय सरकारले बेवास्ता । यस्तो दोहोरो चरित्र अन्त्य गरि देशव्यापी यस्ता समस्या समाधान गर्न म माग गर्दछु ।’

त्यस्तै, सरकारले उखु प्रवर्धन खर्चका रुपमा किसानलाई दिनुपर्ने अनुदानको रकम पनि नदिइएको भन्दै उनले संसदमा प्रश्न गरेका छन् ।

नीति तथा कार्यक्रममा उखु किसानलाई अनुदान वितरणको विषय समेटिएको उल्लेख गर्दै उनले भने, ‘आज पनि कपिलवस्तुका उखु कृषक माइतीघरमा अनसनमा बसिरहेका छन् । तर, सरकारबाट वितरण भएको अनुदानको रकम वास्तविक कृषकको हातमा गएको छैन ।’

सँगै उनले नीति तथा कार्यक्रममा पशु चिकित्सकको विषय नसमेटिएको कृषि क्रान्तिका लागि सो विषय पनि समेट्न माग गरेका छन् ।


क्लिकमान्डु