नक्कली भुटानी शरणार्थी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टुंग्याएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो ।

यो प्रकरणमा प्रहरीले पक्राउ परेका १६ सहित ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

प्रहरीले अभियुक्तहरुमध्ये केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ भने केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।

आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना प्रहरी नियन्त्रणमा छन् । १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो । त्यसपछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । बुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने हदम्याद छ ।

यो प्रकरणमा १६ व्यक्ति पक्राउ परेका छन् भने १७ जना फरार छन् ।

यो प्रकरणमा हाइप्रोफाइलहरु पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

त्यस्तै यसमा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् भने रामबहादुर थापाका छोरा प्रतीक थापा, नीरज राईलगायत १४ अभियुक्त भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा चलाउन लागिएको छ ।


क्लिकमान्डु