ओलीले फूल देखेनन्, काँडा मात्रै देखे: विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरवस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग महामन्त्री शर्माले शीर्ष नेता सबै राजनीतिक उपलब्धिको अंशियार र कमजोरीको जिम्मेवार भएको बताएका हुन् ।

उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको टिप्पणी गरे ।

ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ छ । मुलुकको अर्थतन्त्रको जटिलताको जिम्मेवार वर्तमान सरकार मात्रै नभएको उनले स्पष्ट पारे ।

नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले नीति कार्यक्रम सामान्य रुपले आएको बताए । उनले नीति तथा कार्यक्रम अझ विशिष्टीकृत रुपमा आउनुपर्ने धारणा राखे ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा एमाले अध्यक्ष ओलीले कुण्ठा मात्र व्यक्त गरेको बताए ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न नसक्ने टिप्पणी गरे ।


क्लिकमान्डु