नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएकी उनले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघिबढ्ने संकल्प लिएको पनि स्पष्ट पारिन् ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दावीसमेत गरिन् । मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीहरुले भन्दा रामो काम गरिरहेको जिकीर पनि गरिन् ।

बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरुले पनि गरेको हुन सक्ने स्विकार गर्दै उनले अरु दलका मन्त्रीहरुको तुलनामा भने कम गल्ती गरेको बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढि सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंशा समेत गरिन् ।

मन्त्री शर्माले भनिन्, ‘अहिले सरकारले राम्रो सुरुवात गरेको छ । अस्ती हाम्रो प्रधानमन्त्रीले प्रश्नोत्तरको बेलामा बोल्नु भयो । त्यो बोलिरहँदा एउटा कन्डिशन के देखियो भने हिजोदेखि अहिलेसम्मका सरकार हेरौं । हिजो केपी ओलीले नेतृत्व गर्दाहोस्, शेरबहादुर देउवाले नेतृत्व गर्दाहोस् । जसले नेतृत्व गर्दाहोस–माओवादी मन्त्रीहरु त्यतिधेरै बदनाम छैनन् । राम्रो परिणाम हामीले कति निकाल्न सक्यौं, त्यो एउटा कुरा होला । तर बदमासी गरेको भन्ने कुरा अरुका तुलनामा छैनन् । यो कुरा पनि हाम्रो सकारात्मक हो । र, जे जति राम्रा काम भएका छन । ती माओवादी मन्त्रीकै कारण बढि भएका छन फेरी । अरुले गर्दै गरेनन् । मैले यसो भन्न खोजिराखेको छैन । तर माओवादी मन्त्रीकै कारण बढि भईरहेका छन । अहिले हेर्नु भयो भने पनि अहिले त झन प्रधानमन्त्रीज्यूले हिजो दुई कार्यकालबाट थप सिकेर, बीचको कार्यकाल त त्यस्तैत्यस्तै भयो । पहिलो कार्यकाल सिक्ने क्रममा नै थियौं । र, यो तेस्रो कार्यकाल बढि परिपक्वताका साथ, एकदमै बढि सुझबुझका साथ र स्टेप लिईसकेपछि पछाडि नर्फकने गरेर जसरी कामहरु सूरुवात भएका छन । त्यो धेरै सकारात्मक छ । र, पछिल्लो समयमा हामीले धेरै गर्दै आउँदाखेरीमा नक्कली भुटानी शरणार्थीको विषय जसरी उठिराखेको छ । र, अस्ती प्रधानमन्त्री जसरी बोल्नु भयो संसदमा । त्यो देख्दा हामीलाई के आत्मविश्वास पैदा भएको छ भने हामी पनि बदमास रहेछौं भने पर्छौ भन्ने कुरा ग्यारेन्टी छ । यसमा कसैले कसैलाई रक्षा गर्नेभन्ने कुरा आउँदैन । बदमासीका लागि जनयुद्धका बेला अध्यक्ष प्रचण्डले भन्नु हुन्थ्यो–आफ्नो टाउँकामा आफैं आगो लगाउने भन्नु हुन्थ्यो । हामी आफैंले आफैंलाई आगो लगाउन तयार भएनौं भने अरु विकृतिमाथि हामी आगो लगाउन सक्दैनौं । त्यसकारण अहिले जेजति स्थिति बनेको छ । अहिले सरकारले राम्रो पहलकदमी लिएको छ । राम्रा कामहरु गरेको छ । तर ती कामहरुको प्रचारप्रसार व्यवस्थित ढंगले हुन सकेको छैन । ’


क्लिकमान्डु