व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छुः अर्थमन्त्री
स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामीले नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ । यसमा दुई मत छैन । युवाहरुको क्षमता छ । देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।
यहीँ उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् ।
नेपाली उद्योगी व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं । बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्धन गर्ने नीतिमा हामी जान्छौं । ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।
ज्ञान र अनुभवलाई म उपयोग गर्छु । म ठूलो स्वरमा कुरा गर्दिन । सुधारको आवश्यकता छ, यसलाई इमानदारीका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन । अवश्य पनि नीति तथा कार्यक्रममा क्रमशः सुधार गरिनेछन् । धेरैजसो यसपालि गरिनेछ । कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ ।
कार्यान्वयन हाम्रो मूल चुनौती हो । नौ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु । नौ महिनासम्म के गरेर बसियो ? बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदै छ । गृहकार्य तत्काल सुरु गछौं । यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं । यसबारे गृहकार्य भइरहेको छ ।
यो भयो भने हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढ्छ । पुँजी प्रवाह बढ्छ । यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ । मैले समग्र उद्योग व्यवसाय र समग्र अर्थतन्त्रको कुरा गरेको हुँ । एउटा व्यक्ति या व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पुँजीगत खर्च र राजस्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्नेमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।
मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन् यी सबै कुरा दिनरात म हेरिरहेको छु । यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।
अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौँ । राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु । ती कुरालाई हामी सुधार गर्छौं । यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन ।
वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी छ । यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन । यसको पनि सीमा छ । यससँगै हामीले खर्च गर्ने क्षमता पनि बढाउन आवश्यक छ ।
हाम्रो सावाँब्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौँ भने साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ । सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य र शिक्षाको लगानी कटाउन सक्दैनौं ।
यसबीचमा हामी ऋण भुक्तानीको दायित्वबाट भाग्न पनि सक्दैनौं । यसको जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा पनि दबाब पर्छ । पुँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग स्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ । मेरो आधारसहितको तर्कलाई बुझिदिनुहुनेछ ।
मेरो क्षमता र योग्यताले भ्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म काम गर्छु । तर यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन । तर, त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो । इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो । तपाईंहरुको सहयोग चाहिन्छ । शंका गर्नुस् । प्रश्न उठाउनुस् । तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्छु ।
(प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरु सूर्यबहादुर थापा, पदम गिरी, डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, भवानी खापुङ, ज्ञानेन्द्र शाही र सन्तोष चालिसेको प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा. महत)