नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकारले दिनरात नभनी काम गर्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आएको दाबी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनि सरकारले काम गर्ने बताए ।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने मन्त्री महतको भनाइ थियो ।

‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यक्ता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन्’ उनले भने, ‘ मैले फेरि पनि भनेँ कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्‍यो । इमान्दार हुनुपर्‍यो । रातदिन काम गर्नु पर्यो । त्यो काममा हामी लाग्छौं । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन् । गरिएको कुरा पूरा गर्नु पर्यो, गर्छौं ।’


क्लिकमान्डु