विपन्नका लागि १० प्रतिशत शय्या छुट्याएर नि:शुल्क उपचार गर्न अस्पतालहरुलाई महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरपालिका क्षेत्रमा रहेका अस्पताललाई निर्देशन दिएको छ ।

महानगरको स्वास्थ्य विभागले सूचना प्रकाशित गर्दै महानगरपालिका क्षेत्रभित्र रहेका केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकारका स्वास्थ्य संस्थाहरुले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन भनेको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीको प्रचलित कानुनले तोकेको न्यूनतम परिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैल व्यवस्थापन गर्नेलगायतका विषयमा निर्णय भएकाले सबै अस्पताललाई पालना गर्न निर्देशन दिएको हो ।

सूचनाअनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को परिच्छेद २४ को दफा ७० (घ)मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर नि:शुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था भएकाले महानगरभित्रका अस्पतालले त्यसलाई कार्यान्वयन गर्नुपर्नेछ ।

महानगरले लक्षित वर्गले नि:शुल्क सेवा लिएका व्यक्तिको विवरण टाँस गर्नेलगायतका कार्य पनि गर्न र त्यसो नगरेको पाइए महानगरको नियमअनुसार कारबाही हुने पनि सूचनामा उल्लेख छ ।


क्लिकमान्डु