अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१%, रोजगारी सिर्जना ८५ प्रतिशत: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखिएको जनाएका छन् । यसले निजी क्षेत्र फस्टाउन नसके अर्थतन्त्र नै समस्यामा पर्ने देखिएको उनको भनाइ छ ।

अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको अध्ययनमा देखिएको बताए ।

‘निजी क्षेत्रले रोजगार दिन नसक्दा अहिले ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएका छन् । त्यसैले दिगो आर्थिक बिकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका आवश्यक छ । र त्यो सुधारको प्रस्थानविन्दु यसपटकको बजेट हुनुपर्छ’ उनले भने ।

निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने र त्यो यसपटक देखिएको उनको भनाइ छ । ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुनु यसको कारण भएको ढकालको भनाइ छ ।

‘निजी क्षेत्रले विगत एक बर्षदेखि अपेक्षाकृत काम गर्न सकेको छैन । उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक नै छ । जसका कारण ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित भएको छ । राजश्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भैरहेको छ’ ढकालले भने ।

न्यून मागका कारण निजी क्षेत्रका अधिकांश व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेको भन्दै ढकालले तीन त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु चिन्ताजनक अवस्था भएको बताए ।

बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको उनले बताए ।

त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण आवश्यक रहेको र उद्यमी व्यवसायीलाई पुर्नकर्जा सुविधा आवश्यक रहेको उनले बताए ।


क्लिकमान्डु