अहिले गाउँ-गाउँसम्म भ्रष्टाचार विस्तार भएको छ: महालेखापरीक्षक शर्मा



काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘सुशासन प्रवर्धनमा नागरिकको भूमिका’ विषयक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय बराबरी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

राज्यका जिम्मेवार पदमा पुगेका व्यक्ति भ्रष्टाचार नियन्त्रणका लागि थप जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । ‘नागरिक पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘राज्यका निकायबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार बढेको हो ।’

भ्रष्टाचार हुन नदिन नागरिकले राज्यका निकायमा निगरानी र खबरदारी गर्नुपर्ने उनले बताए । नागरिक आफैँ पनि भ्रष्ट गतिविधि र अभ्यासमा संलग्न हुन नहुने उनले स्पष्ट पारे । ‘अहिले गाउँ-गाउँसम्म भ्रष्टाचार विस्तार भएको छ,’ शर्माले भने, ‘नागरिकले स्थानीय तहले गरेका काम, कारबाहीमा निगरानी र चासो राख्नुपर्ने स्थिति छ ।’


क्लिकमान्डु