१२ वर्षदेखि बन्न नसकेको जब्दिघाट पुल नयाँ ठाउँमा बनाउन १० दिनभित्र टेन्डर गर्ने तयारी



काठमाडौं । भौतिक, पूर्वाधार तथा विकास मन्त्रालयले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल नयाँ ठाउँमा निर्माण गर्ने तयारी गरेको छ ।

१२ वर्षसम्म बन्न नसकेको उक्त पुल नयाँ ठाउँमा निर्माण गर्नका लागि प्रकृया अघि बढेको भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले पप्पु कन्स्ट्रक्सनसँग गत मंसिरमा जब्दिघाट पुल निर्माण सम्झौता तोडेको थियो । डिभिजनले ११ वर्ष अघि गरेको सम्झौताअनुसार अहिलेसम्म पनि निर्माण नभएपछि ठेक्का तोडेको थियो ।

डिभिजनले पुल निर्माणको क्रममा लापरवाही भएको भन्दै गल्ती सच्याउन निर्देशन दिएको थियो । तर, पप्पुले बेवास्था गर्दै निर्माण गरेको थिएन ।

उक्त पुल २०६७/६८ मा सम्झौता भएर २०७३/७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । करिब ४ सय २५ मिटर लम्बाइको पुल १६ करोड ६८ लाख रूपैयाँ निर्माण गर्ने गरि पप्पुले ठेक्का पाएको थियो ।

निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि विवाद भएको थियो । समयमै पुल नबन्दा सेवाग्राही समस्यामा रहेकोले सरकारले विवाद समाधान गर्ने गरी नयाँ प्रस्ताव अघि बढाएको मन्त्री ज्वालाले बताए ।

भत्किएको पुलको स्याल्याब तथा पिलरहरू नहटाउँदा पानी परेको बेला थुनिएर वरिपरिका क्षेत्र डुब्ने देखिएको उनले बताए । त्यसैले मन्त्रालयले भत्किएको पुलको स्ल्याब तथा पिलरहरू हटाउन सुरू गरिसकेको उनले बताए ।

मन्त्रालयले गत वैशाख २९ गतेदेखि नै उक्त पुलको सामग्रीहरू हटाउन सुरू गरिसकेको छ । अब भने सो पुलको विकल्पमा नयाँ पुल बनाउने गरी कार्य बढाएको मन्त्री ज्वालाको भनाइ छ ।

‘भत्केको पुलमा थप टेन्डर गर्न नमिल्ने भएकाले पुलको स्थान परिवर्तन गरिएको छ,’ उनले भने, ‘नयाँ पुलको टेन्डर अब १० दिन भित्र गर्नेछौं ।’

मन्त्रालयले प्राविधिक कार्यहरू अगाडि बढाएको छ । नयाँ पुल छिटोभन्दा छिटो बनाइ जनतालाई चाँडो राहत दिने गरी अघि बढेको उनले बताए ।


क्लिकमान्डु