गाडी किन्दा प्यान अनिवार्य, आन्तरिक राजस्व विभागले जारी गर्‍यो सर्कुलर



काठमाडौं । स्थायी लेखा नम्बर(प्यान) पेश नगरी चार पांग्रे सवारी खरिद गर्न नपाइने भएको छ ।

आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै स्थायी लेखा नम्बर उल्लेख नगरेमा गाडी नामसारीको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको हो ।

विभागले नाडा अटोमोबाइल एसोसियसनलाई समेत पत्र लेख्दै प्यान नभएका व्यक्तिलाई गाडी बिक्री नगर्न सचेत गराएको छ ।

यस्तै, विभागले ४३ वटा आन्तरिक राजस्व कार्यालयलाई प्यान उल्लेख नगरी गाडी खरिद/बिक्री गरिए कानून बमोजिम कारबाही गर्न र बजार अनुगमन बढाउन निर्देशन दिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटको ३९१ नम्बर बुदाँमा चार पांग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नु पर्ने व्यवस्था गरेको थियो ।

बजेटमा गरिएको घोषणाका आधारमा विभागले गत साउनमै स्थायी लेखा नम्बर लिएर मात्रै गाडी बिक्री गर्न अटो व्यवसायी र गाडी नामसारी गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको थियो ।

तर, केही व्यवसायीले प्यान नलिइ गाडी बिक्री गरेको उजुरी परेपछि विभागले सबै व्यवसायी, देश भरका आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयलाई प्यान अनिवार्य गर्न पत्राचार गरेको विभागका सूचना अधिकारी राजु प्याकुरेलले जानकारी दिए ।

‘चालू आर्थिक वर्षको बजेटमा भएको व्यवस्था कार्यान्वय गर्न हामीले सम्बन्धित निकायमा पत्राचार गरेका हौं,’ विभागका सूचना अधिकारी प्याकुरेलले भने,‘संसदले पारित गरेको नीति सबैले मान्नु पर्छ । उक्त नीति विपरित गाडी खरिद बिक्री गर्नलाई कानून बमोजिम कारबाही गर्नेछौं ।’

कर छली, भ्रष्टाचार वा अवैध स्रोतबाट आर्जन गर्दै महँगा गाडी खरिद गर्ने क्रम बढेपछि सरकारले बजेटमार्फत गाडी किन्न प्यान पेश गर्नु पर्ने नियम ल्याएको थियो ।

प्यान पेश गर्दा वैध आर्जन गर्नेले मात्रै गाडी खरिद गर्न सक्ने सरकारी अधिकारीको विश्वास छ ।

‘गाडी खरिद गर्नेको विवरण हाम्रो प्रणालीमा भयो भने भोलीका दिनमा आम्दानीको स्रोत के थियो भनेर खोज्न सहयोग गर्छ,’ विभागका एक उपमहानिर्देशकले भने,‘राज्यसँग बढी भन्दा बढी सूचना भयो भने अवैध आर्थिक गतिविधि रोक्न सहयोग गर्छ भनेर गाडीमा प्यान अनिवार्य गर्ने नीति लिइएको हो ।’

सरकारको नीतिले व्यवसायीक प्रयोजनका लागि गाडी किन्ने व्यक्तिलाई असर नगरे पनि स्रोत नखुलेको आम्दानी भएकालाई असर गर्नेछ ।


क्लिकमान्डु