वैशाखमा पनि उठेन गत वर्ष बराबर राजस्व, १० महिनामा लक्ष्यको ७६ प्रतिशतमात्रै



काठमाडौं । वैशाखमा पनि गत वर्षबराबर राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ ।

विभागले गत वर्ष वैशाखमा ३५ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेकोमा यो वर्ष ३४ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । विभागले वैशाखमा ५१ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

गत वर्ष वैशाख मसान्तसम्म ३ खर्ब ७८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले चालू आर्थिक वर्षको १० महिनामा ३ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

१० महिनामा ४ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने विभागको लक्ष्य थियो । तर, लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको विभागले चालू आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । विभागले वैशाख मसान्तसम्म लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ ।

साउनदेखि लक्ष्यअनुसार राजस्व संकलन नभएपछि अर्थ मन्त्रालयले माघ मसान्तमा विभागले ५ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने संशोधित लक्ष्य तय गरेको थियो ।

तर, चालू आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षबराबर पनि राजस्व संकलन गर्न कठिन भएकाले संशोधित लक्ष्यअनुसार राजस्व संकलन हुने सम्भावना छैन ।

वैशाख मसान्तसम्ममा विभागले संशोधित लक्ष्यको ६९ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ । अब जेठ र असारमा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन भए मात्रै संशोधित लक्ष्यअनुसार राजस्व संकलन हुन सक्छ ।

गत वर्ष जेठ र असारमा १ खर्ब ५ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएकाले यो वर्ष उक्त रकमभन्दा बढी राजस्व संकलन हुने सम्भावना छैन । विभागले साउनदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।

विभागले साउनमा ४३ अर्ब ७० करोड संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । भदौमा ३१ अर्ब ७१ करोड संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

त्यसैगरी, असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड र कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन भएको थियो । पुसमा १ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ७१ अर्ब ३१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो।

विभागले माघमा ३९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष माघमा ३१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

फागुनमा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ९८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष फागुनमा २८ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको थियो ।

चैतमा ८३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिए पनि विभागले ५५ अर्ब २ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।


क्लिकमान्डु