आगामी बजेटमा कृषि क्षेत्रमा लगानी बढाउन सांसदको माग



काठमाडौं । दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए । समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले आगामी वर्षको बजेटमा सरकारले कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्न आवश्यक रहेको बताइन् । उनले कृषि अनुदानलाई प्रभावकारी बनाउनु पर्ने, कृषकका उत्पादनहरुलाई बजारीकरण गर्ने र उत्पादन राख्ने चिस्यानकेन्द्रहरु स्थापना गर्नुपर्नेमा जोड दिए ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले मलखाद भारतबाट मात्रै नभइ चीन सरकारबाट पनि ल्याउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले चीनबाट ल्याउँदा छिटो र सहजै आउने भएकाले मलखादका लागि चीन सरकारस्ँग सम्झौता अघि बढाउन सुझाव दिए ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मृगेन्दकुमार सिंह यादवले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गर्दा उत्पादनमा कमी भइरहेको बताए । सरकारले हालसम्म बजेटको २ प्रतिशत भन्दा बढी कृषिमा लगानी नगरेकोप्रति असन्तुष्टि जनाए ।

राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले सबैकुरा आउने गरेपनि मन्त्रालयका मन्त्री र कर्मचारीहरुको इमान्दारिता नहुँदा कृषि क्षेत्रले समस्या व्यहोर्नुपरेको बताए ।

सदस्य दाहालले खरिद ऐनको बारेमा विस्तृत छलफल र वहस हुन आवश्यक रहेको बताए ।


क्लिकमान्डु