दुईवटा जहाज किन्ने तयारीमा वायुसेवा निगम



फाइल तस्बिर

काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा जहाज किन्ने योजना अघि बढाएको छ ।

निगमका प्रवक्ता रमेश पोडेलकाअनुसार नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुईवटा जहाज खरिद गर्ने तयारी गरेको हो । त्यसका लागि निगमको व्यवस्थापनको उपसमितिले केही समयअघि आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

जहाज खरिदका लागि छिटो विशेष पहल गरी खरिद कार्य सम्पन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको वैशाख २६ को सञ्चालन समितिको बैठकले निगम सञ्चालक समितिका सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसिमित गठन गरिएको पौडेलले बताए । उक्त उपसमितिले २१ दिनभित्र प्रतिवेदन पेस गर्ने गरि काम सुरु गरेको उनले बताए ।

नेपालभित्र शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएका कारण निगमले हाल शहरी तथा व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सक्ने अवस्था नरहेको निगमले जनाएको छ । जसकारण २ जहाजहरु किनेर काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायतका नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझैं धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने निगमको विश्वास रहेको सूचनामा जनाइएको छ ।

‘यी जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरिद गरिनेछ ’ विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु