कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् ।

२०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा लागेका हुन्छ ।

कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेको उनले बताए । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोले र वन विभागको अनुमति लिएर रक्तचन्दनको खेती गरे ।

काठमाडौंमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिम लिएका थिए । हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन् ।

उनले रक्तचन्दनबाट वार्षिक १८ देखि २० लाखसम्म कारोबार गरिरहेका छन् । सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थालेका पन्तले उत्पादन गरेका बिरुवा स्थानीय बजार, संघसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेको छ ।

श्रीखण्डको भित्री काठ तीन हजार पाँच सयदेखि चार हजारसम्ममा बिक्री हुने गरेको छ । सुरुवातमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा उनी लागेका थिए ।

उनको सिको गरेर महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुवात गरेका छन् ।

कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनी रूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए ।

व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नसकेको उनको भनाइ छ ।

धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढी प्रयोग गरिन्छ । रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुन्छ । एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुन्छ ।

विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा पनि यसको प्रयोग गरिन्छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ । (रासस)


क्लिकमान्डु