बिमा प्राधिकरणका अध्यक्ष सिलवालको प्रश्न: सिंहदरबारको बिमा खोई ?



काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले परम्परागत शैलीमा व्यवसाय गर्ने समय नभएको बताएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष सिलवालले सरकारलाई सिंहदरबारको बिमा किन नगरेको भन्दै प्रश्न गरे ।

‘कुनै सरकारी निकायको बिमा छैन । अब वडा कार्यालयदेखि सिंहदरबारसम्मको बिमा आवश्यक छ,’ उनले भने, ‘सरकारले पहिला आफ्ना भैतिक संरचनाको बिमा गर्नुपर्छ ।’

महालेखाले सरकारी सम्पतिको लगत निकालेका कारण अब सरकारले पनि बिमा उनको भनाइ छ । बिमाको रिस्क लिन बिमा कम्पनी पनि सक्षम र तयार हुनुपर्ने उनको भनाइ छ ।

छोटो अवधिमा दुई कम्पनी मर्ज भएर एकीकृत कारोबार हुनु महत्वपूर्ण विषय भएको अध्यक्ष सिलवालले बताए । कम्पनीले गरेका सबै काम सञ्चालकलाई थाहा नहुने भन्दै उनले अब अलि बढी ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिले अर्थतन्त्र सुधारका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए ।

यतिबेला सबै क्षेत्रमा सकारात्मक बहस थाल्नुपर्ने र त्यसले अर्थतन्त्र सकारात्मक दिशामा जान प्रेरणा मिल्ने उनको भनाइ छ । ‘अहिले करिब २५ प्रतिशत विप्रेषण । बढेको छ, निक्षेप बढेको छ, ब्याजदर घटेको छ, राष्ट्र बैंकको पछिल्लो नीतिले ब्याजदर थप घट्दै जानेछ,’ उनले भने, ‘यसले पनि निजी क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गर्ने वातावरण बनिरहेको छ ।’

बिमा क्षेत्रमा समयमा दाबी भुक्तानी नहुने गुनासा सुनिने भन्दै उनले त्यस्ता गुनासा नआउने गरी काम गर्न सुझाव दिए । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सुरु गरेको २ महिनामा मर्जरको काम सकिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले  विश्वासिलो र उत्कृष्ट सेवा दिन सुझाव दिए । मर्जर सफल भए पनि पछि दिने सेवाले खास अर्थ राख्ने भन्दै प्रभावकारी सेवा दिन उनले आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यवसाय खस्किन नदिन आग्रह गरे । त्यस्तै नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सुझाव दिए । सेवाग्राहीलाई राम्रो सेवा दिए, सेवाग्राहीले राम्रो सेवा पाए भने व्यवसाय पनि बढ्ने उनको भनाइ छ ।

जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलले बिमा कम्पनी मर्जर भएसँगै सफलतापूर्वक चलाउन आवश्यक रहेको तर्क गरे ।


क्लिकमान्डु