आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले सुरु गरे एकीकृत कारोबार



काठमाडौं । आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले वैशाख २७ गते बुधबारदेखि ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जर पाँचौं सफल मर्जर हो । नेपाल बीमा प्राधिकरणले बिमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका थिए ।

मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये १० निर्जीवन कम्पनीले एकीकृत कारोबार थालनी गरेका छन् । अरु २ कम्पनी मर्जर प्रक्रियामा छन् ।

यस्तै, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई बनेको ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ निर्जीवन बिमा कम्पनीतर्फ चुक्ता पुँजीका आधारमा ठूलो कम्पनी बनेको छ ।

मर्ज भई बनेको कम्पनी ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघेको छ । जुन नियामकले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।

कम्पनीहरु १००:१०० सेयर अनुपात (स्वाप रेसियो)मा मर्जरमा गएका हुन् । यी दुई कम्पनीले चैत ६ गते मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्राधिकरणले पुँजी वृद्धिको नीति ल्याउनुअघि बीमा बजारमा २० वटा कम्पनीले निर्जीवन बिमा व्यवसाय गर्दै आएका थिए ।

पुँजी वृद्धिको नीति लिएपछि हाल उक्त संख्या घटेर १५ वटामा कायम भएको छ । प्रक्रियामा रहेका सबै कम्पनीको मर्जर सफल भए बजारमा निर्जीवन बिमा कम्पनीको संख्या १४ मा सीमित हुनेछ ।


क्लिकमान्डु