धितोपत्र सूचीकरण विनियमावली संशोधन अन्तिम चरणमाः कम्पनी सूचीकरण हुने अवधि घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावली-२०७५ संशोधन गरेर धितोपत्र बोर्डमा पठाउने तयारी गरेको छ । २०७५ सालमा बनेको विनियमावलीमा केही संशोधन गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

नेप्सेले सूचीकरण विनियमावली-२०७५ संशोधन गरेर कम्पनी सूचीकरण हुने अवधि घटाएको छ । सूचीकरणका क्रममा गल्ती गरेको भए सफाइ पेस गर्ने समय, लकइन अवधिलगायतमा केही नयाँ व्यवस्था गरिएको छ भने केहीमा संशोधन गरिएको छ ।

संशोधन विनियमावलीमा सूचीकरण हुने समय १ महिनाबाट घटाएर ७ दिन कायम गरिएको छ । विवरण तथा कागजात पूरा भएका कम्पनी सामान्यत: ७ कार्य दिनभित्र सूचीकरण हुनुपर्नेछ । यसअघि ३० दिनभित्र सूचीकरण हुनुपर्ने व्यवस्था थियो ।

संशोधन गरिएको विनियमावलीमा संगठित संस्थाले धितोपत्रको अंकित मूल्यमा प्रिमियम थप गरी धितोपत्र जारी गरेमा, जारी गरेको मूल्यमा सूचीकरण शुल्क नेप्सेमा बुझाउनुपर्ने व्यवस्था थप गरिएको छ ।

यस्तै, नेप्सेले संशोधन गरेको विनियमावलीमा कुनै धितोपत्रको सूचीकरण खारेज गर्नुअघि खारेज गर्नुपर्ने आधार र कारणसमेत उल्लेख गरी सम्बन्धितलाई सफाइ पेस गर्ने मौका दिनुपर्ने र सफाइ पेस गर्ने अवधि अधिकतम ३० दिनको हुने व्यवस्था गरेको छ ।

यसअघि सफाइ पेस गर्ने अवधि तोकिइको थिएन । त्यसमा कम्पनीहरुले मनलाग्दी गरिरहेका थिए ।

संशोधित विनियमावलीमा हाल भएको धितोपत्रको लकइन अवधिलाई पनि थप प्रस्ट पारिएको छ । यसअघि संगठित संस्थाको धितोपत्र खरिद–बिक्री, हक हस्तान्तरण वा नामसारी गर्न नपाउने गरी लकइन गरिएको भए त्यस्तो लकइन अवधिसमेत उल्लेख गर्नुपर्ने व्यवस्था थियो ।

संशोधनमा लकइन अवधि उल्लेख गर्दा लकइन हुने सेयरको संख्या, लकइन सुरु मिति, लकइन गर्नुपर्ने कारण र लकइन समाप्त हुने मितिसमेत उल्लेख गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको नेप्सेले जनाएको छ ।

संशोधित विनियमावलीमा सूचीकृत संगठित संस्थाले कम्पनी ऐनमा उल्लेख भएबमोजिमका काम कारबाहीका लागि सेयरधनी दर्ता किताब बन्द गर्न सक्ने व्यवस्था गरेको छ ।

सूचीकृत संगठित संस्थाको साधारण वा विशेष साधारण सभाबाट बोनस सेयर जारी गर्ने भएमा सभाले निर्णय गरेको ७ दिनभित्र सेयरधनी किताब बन्द गरी बोनस सेयरमा हकदाबी लाग्ने सेयरधनीको सूची तयार गर्नुपर्ने व्यवस्था गरेको छ ।

सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय बजार खुला हुनुअघि गरेको भएमा तत्काल र बजार बन्द भएपछि निर्णय गरेको भए सोही दिन वा भोलिपल्ट बजार खुल्नुअघि नेप्सेको विद्युतीय प्रणालीमार्फत जानकारी गराउनुपर्ने व्यवस्था विनियमावलीमा उल्लेख छ ।

अहिले कतिपय कम्पनीले बुक क्लोजका साथै लाभांश घोषणा गरेको जानकारी नेप्सेलाई दिन पनि निकै लापर्बाही गरिरहेका छन् ।

सूचीकृत संगठित संस्थाले लाभांश, बोनस वा हकप्रद सेयर निष्कासन गर्ने निर्णय तथा मर्जर/ प्राप्तिसम्बन्धी निर्णय एवं वैदेशिक ऋण प्राप्ति, नाफा आर्जनलगायतका धितोपत्रको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने संवेदनशील निर्णय धितोपत्र कारोबार समयमा गर्न नहुने र बजार खुल्नुअघि गरेको भए तत्काल र बजार बन्द भएपछि निर्णय गरेको भए सोही दिन वा भोलिपल्ट बजार खुल्नुअघि नेप्सेलाई जानकारी दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

विनियमावलीमा गरेको संशोधन नेप्सेले धितोपत्र बोर्डमा पठाउनेछ । बोर्डले उक्त संशोधन प्रस्ताव आवश्यक अध्ययन गरी थपघट गरेर पास गर्नेछ । बोर्डले पास गरेपछि संशोधित व्यवस्था कार्यान्वयनमा आउनेछ ।


क्लिकमान्डु