संसदमा उठ्यो ५ सय र हजारका नोट प्रतिबन्धको माग



काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्द उनले यस्तो माग गरेकी हुन् ।

अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ थियो । सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् ।

‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजश्व संकलनको समस्या के हो ? किन भएन राजश्व संकलन ?’ उनले भनिन्, ‘भन्सारमा चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्नेकुरामा म विश्वास गर्दिन । बोरामा बाँधेका पैसाहरु नियन्त्रणमा लिन ५ सय र हजारका नोटलाई ब्याण्ड गरौं । यदी हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ ।’


क्लिकमान्डु