महानगरले सार्वजनिक गर्‍यो ‘केएमसी एप’, ३१ वटा काम अनलाइनबाटै गर्न सकिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवाप्रवाहलाई थप चुस्त र आधुनिक बनाउँदै ‘केएमसी एप’ सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत महानगरपालिकाले आफूले दिने सेवालाई होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल सुशासन प्रणाली केएमसी एप सार्वजनिक गरेको जनाएका छन् ।

मेयर शाहकाअनुसार यो एपबाट महानगरका सेवाग्राहीहरुले अनलाइनमार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था गरिएको छ । एपबाट लिन सकिने सेवाहरुमा ३० भन्दा बढी प्रकारका सिफारिसहरु, अनलाइन राजस्व, नगरप्रमुखसँग भेटघाटका लागि अपोइनमेन्ट, च्याटबोट, महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरु, विभागगत कार्यविवरण सहितको डिजिटल नागरिक बडापत्र, हेल्लो मेयर, जनगुनासो, स्मार्टकर, प्रकाशित राजपत्रहरु, पर्यटकीय स्थलहरु, रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोपजस्ता आकस्मिक सेवाहरु, सार्वजनिक शौचालयलगायत समेटिएको बालेनले जनाएका छन् ।

त्यस्तै, एपबाट हाललाई नागरिकता सम्बन्धि सिफारिस, घरबाटो सिफारिस, कित्ताकाट सिफरिस, जग्गा मूल्यांकन सिफरिस, घरधनी प्रमाणपुर्जाको प्रतिलिपिलगायतका विभिन्न ३१ वटा सिफरिसहरु अनलाइनबाट लिन सकिने महानगरका मेयर बालेनले जनाएका छन् ।

अन्य सिफसिरका लागि भने सेवाग्राहीहरुले कार्यालयमै उपस्थित भएर काम हुने उनले जनाएका छन् ।

एपबाट अनलाइनबाटै सम्पत्ति कर, भूमी तथा मालपोत कर, व्यवसाय करजस्ता विभिन्न करहरु पनि तिर्न सकिने र त्यसका लागि ईसेवा, खल्ती, आईएमई पे, प्रभु पेजस्ता पेमेन्ट गेटवे इन्टिग्रेट रहेका छनु । साथै, महानगपालिकाले विभिन्न कामहरु तथा ठेक्का बापतको भुक्तानीका लागि समेत ईएफटि (इलेक्ट्रिोनिक फण्ड ट्रान्सफर) सेवा सुरु गरेको बालेनले जनाएका छन् ।

‘यो सँगै महानगरमा कर तथा रकम तिर्न र भुक्तानी लिन कार्यालय आउनु पर्दैन,’ बालेनले लेखेका छन्, ‘यसबाट सेवाग्राहीहरुले पैसासँग जोडिएका हरेक कारोबार घरबाटै गर्न सकिने व्यवस्था गरेका छौं। यसले महानगरको सेवा प्रवाह तथा आर्थिक कारोबारलाई थप पारदर्शी बनाई सेवाग्राहीमैत्री महानगर बनाउन टेवा पुर्याउनेछ ।’


क्लिकमान्डु