प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ११.६५ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा इन्स्योरेन्सले १० करोड ३ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ११ करोड ३६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको खुद बिमाशुल्क पनि १२.७७ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३१ करोड १७ लाख ९४ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा ३५ करोड ७४ लाख ५२ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बिमा कमिशन आयबाट १५ करोड २६ लाख ९१ हजार रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ३६ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा २ करोड ६३ लाख ३३ हजार रुपैयाँ र पुनर्बिमा कमिशन खर्च शिर्षकमा १ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले १ लाख ३ हजार ९७८ वटा कुल बिमालेख जारी गरी १ अर्ब ४ करोड ५१ लाख २६ हजार कुल बिमाशुल्क संकलन गरेको हो ।

कम्पनीले यस अवधिमा ४ हजार ९४ वटा बिमा दाबीवापत ५७ करोड २६ लाख ४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, ३ हजार ७६६ वटा बिमा दाबीवापत ५६ करोड ५३ लाख ४२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब २२ करोड ५५ लाख ८४ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०.९२ रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा २६ करोड ५३ लाख रुपैयाँ र बीमा कोषमा ७२ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

प्रुडेन्सियल इन्स्योरन्स र आइएमई जनरल इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । कम्पनीहरुले वैशाख २७ गते बुधबारदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

एकीकृत कारोबारपश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा धेरै हो ।


क्लिकमान्डु