जति आलोचना गरे पनि मैले बिराएको छैन, डराउन्न: आरजु



काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले जसले जति आलोचना गरे पनि आफूले नबिराएकाले नडराउने बताएकी छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद राणाले आफू नभएको समयमा संसदमा आफ्नोबारे प्रश्न उठ्ने गरेको बताइन् ।

भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने आफ्नो ठूलो प्रश्न रहेको उनले बताइन् ।

‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने मेरो ठूलो प्रश्न छ । म नभएको दिनमा मेरो नामलाई इगिंत गरेर अनेक थरि प्रश्न उठेको छ र आज पनि प्रश्न उठेको पाएको छु,’ उनले भनिन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ। पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाष्य मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने। त्योभन्दा अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई त्यो असैह्य हुने । योचाहिँ परिस्थिति बनेको छ। जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न ।’

आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको राणाले बताइन् । उनले सबै सांसदको सम्पत्ति विवरण वेवसाइटमा प्रकाशन गर्न माग गरिन् ।

‘हामी जति सांसद छौं, सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित होस्, जनताले सबैले देखोस्,’ उनले भनिन्, ‘कसको के थियो । कति बढ्यो वा घटोस् सबैको देखियोस् ।’


क्लिकमान्डु