ठूला दलका नेता ‘लुटेराको छाउरा’हुन्: लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरुलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिएका छन् ।

आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरुलाई लुटराको छाउरा भनि टिप्पणी गरेका हुन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरुलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनी दिए ।

उनले लुटेराहरुको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरुको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आवद्ध महिला नेतृत्वले काम गर्नुपर्ने बताए । पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्म रहेको र यसमा आफूहरु दृढतापूर्वक लागिपर्ने पनि दोहोर्‍याए ।

‘अस्ती एक जना नेताले भनेका रहेछन नि–यी पुराना सामन्तवादका छाउराहरु हुन भनेका रहेछन । मलाई के भन्न मन ल्याग्यो भने–तिमीहरु लुटेराका छाउराहरु हौं । त्यो भन्दा बढदा केही होइनौं अहिले । यो देशलाई लुटन आएका लुटेराका छाउराहरु हौं तिमीहरु । यसको बारेमा, यिनीहरुको क्रियाकलापको बारेमा बोल्ने पनि हाम्रो दायित्व हो । महिला हिंसाको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जहाँ भएपनि आवाज उठाउँछ ’ उनले भने ।


क्लिकमान्डु