साइन रेसुंगा डेभलपमेन्ट बैंकमा कर्मचारीको व्यवस्थापन: ‘ह्याप्पिनेस इन्डेक्स’ मापन



काठमाडौं । पाँच प्रदेशमा फैलिएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पल्ट कर्मचारीको ‘ह्याप्पीनेस इण्डेक्स’ मापन गरिरहेको छ । दुई वर्षअघिबाट बैंकले आफ्ना कर्मचारीहरुको सन्तुष्टिको मापनका लागि यो इण्डेक्स सुरु गरेको थियो ।

यो सूचकांक भुटानमा प्रख्यात रहेको ‘ह्याप्पीनेस इण्डेक्स’बाट प्रभावित भएर सुरु गरिएको बैंकले जनाएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अर्थपूर्ण योगदानका लागि प्रभुल्लीत मन, श्रृजनशिल मस्तिष्क र स्वस्थ्य शरीर भएको मानव संशाधन आवश्यक रहेको बताए ।

संस्थाको सवैभन्दा ठूलो सम्पति त्यहि रहेकाले आफू ‘ह्याप्पीनेस इण्डेक्स’ सिद्धान्तबाट प्रेरित रहेको बताए । कर्मचारीको सन्तुष्टिको मापनलाई ध्यानमा राख्दै यो कार्यक्रमको सुरुवात गरिएको उनी बताउँछन् ।

यो सूचकाङ्कको आधारमा बैंकमा कार्यरत रहेका कर्मचारीहरुको सन्तुष्टिको मापन गरिन्छ । २०७८/ २०७९ मा बैंकका कर्मचारीहरुको खुशीको सूचकाङ्क औसतमा १० मध्ये ८ रहेको बैंकको मानव संशाधन विभाग (एचआर)प्रमुख प्रभाष राई बताउँछन् । ‘अन्य संघ संस्थाहरुवाट समेत प्रशंसा गरिएको यस कार्यक्रममार्फत नै शाइन रेसुङ्गा बैंकमा कर्मचारीहरुले काम गर्ने वातावरण उत्कृष्ट रहेको देखाएको छ,’ राई भन्छन् ।

ठूला कम्पनीहरुमा हुने कर्मचारीहरुको व्यवस्थापन आफैंमा चुनौतीपूर्ण विषय हो । झन्, नेपालमा कर्पोरेट क्षेत्रभित्र कर्मचारी तथा मानव संशाधनको व्यवस्थापनको विषयलाई लिएर पश्चिमा मुलुकमा जस्तो विकास र विस्तार भएको अवस्था छैन ।

यस्तो अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्ना कर्मचारीहरुको व्यवस्थापनलाई लिएर विभिन्न कार्यक्रम तथा योजनाहरु अघि ल्याएर काम गरिरहेको राई बताउँछन् ।

‘९८७ जना कर्मचारीलाई व्यवस्थापन गरीरहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आफ्ना कर्मचारीहरुको व्यवस्थापनको विषयलाई लिएर स्पष्ट मार्ग निर्धारण गरेको छ’ उनी भन्छन् ।

कर्मचारीहरुको हितमा नीतिगत व्यवस्था गरेको र उक्त नीतिको कार्यान्वयनका लागी विभिन्न कार्यक्रम र योजनाहरु मार्फत आफ्ना कर्मचारीहरुलाई विशेष महत्व दिंदै आएको बैंकले जनाएको छ ।

बैंकमा रहेका ९८७ जना कर्मचारीहरु मध्ये आन्तरिक स्रोतबाट ७६२ जना कर्मचारी छन् भने बाह्य स्रोतबाट २२५ जना कर्मचारी रहेका छन् ।

बैंकको मानव संशाधन विभागका अनुसार बाह्य स्रोतका कर्मचारीहरुमा सुरक्षा गार्ड तथा सहयोगी कर्मचारीहरु रहेका छन् । लुम्बिनी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फैलिएको बैंकको ८८ शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर रहेको छ । जसमा ५४.१४ प्रतिशत पुरुष र ४५.८६ प्रतिशत महिला कर्मचारी रहेको राईले बताए ।

कर्मचारीको सन्तुष्टि र काम गर्ने वातावरण सिर्जना गर्नका लागि बैंकले हरेक किसिमका उपाय र कार्यक्रमहरु ल्याउँदै आएको छ ।

यसैबीच बैंकले केन्द्रीय कार्यालयमा आफ्ना कर्मचारीहरुको शिशु हेरचाहको व्यवस्था मिलाएको छ । बैंकले आमाहरुलाई कार्यास्थलमा आफ्नो मातृत्व कर्तव्यसँग सम्झौता नगरी आफ्नो करिअरलाई पनि अघि बढाउन र दायित्व पूरा गर्न सक्षम बनाउने प्रतिबद्धता राखेकाले यस्तो कदम चालेको जनाएको छ ।

त्यस्तै, बैंकले ‘साइनः हामी आफैंलाई प्रशिक्षण गर्छौं’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । बैंकले कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्ने उद्धेश्यले हरेक त्रैमासिक अवधिमा एक दिन ‘साइनः हामी आफैंलाई प्रशिक्षण गर्छौं’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो कार्यक्रम अन्तर्गत प्रत्येक शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्ने उद्धेश्यले एक अर्का माझ आफूले सिकेको सिप तथा ज्ञान आदानप्रदान गर्ने गरिन्छ । ‘यो अवधारणा एउटा स्वतन्त्र सिकाई गर्ने कार्यक्रमको रुपमा रहेको छ । उल्लेखित दिनमा प्रत्येक शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु जमघट भई पालैपालो सिप तथा ज्ञान आदान प्रदान गर्ने कार्य गरिन्छ’ राईले भने ।

त्यस्तै, बैंकले ‘लाईफ एट साइन’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

कर्मचारीहरुलाई बैंकप्रति अपनत्व जगाउने उद्धेश्यले बैंकले मानव संशाधनसँग सम्बन्धित ‘लाईफ एट साइन’ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस अन्तर्गत विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु सशक्तिकरण, समानता, विविधता र समावेशिताजस्ता विषयको प्रवद्र्धन गर्ने, कर्मचारीहरुको संलग्नता बढाउने गरी विभिन्न गतिविधिमा सहभागि गराउने कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

यो कार्यक्रम अन्तर्गतबाटै प्रमुख कार्यकारी अधिकृत सहितको संलग्नतामा बैंकका सम्पूर्ण कर्मचारीहरुको सहकार्यबाट बैंकको केन्द्रीय कार्यालयको अफिस ‘टुर’ भिडियो निर्माण गरिएको उनले बताए ।

त्यस्तै, अन्तर्राष्ट्रिय महिला दिवसको दिन बैंकका महिला नेतृत्वकर्ताहरुलाई लिएर भिडियो सामग्री निर्माण गरिएको थियो भने समय समयमा मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम, नयाँ वर्षको दिन प्रमुख कार्यकारी अधिकृत मार्फत सम्पूर्ण कर्मचारीहरुका लागि सन्देश सहित उपहार जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु