हुलाकी राजमार्गको काम रोकिएपछि सांसद र पालिका प्रमुखले दिए आन्दोलनको चेतावनी



विराटनगर । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको हुलाकी राजमार्गको मोरङ खण्डको काम रोकिएको भन्दै सांसद तथा पालिका प्रमुखहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

हुलाकी राजमार्गले छुने मोरङ खण्डका पालिका प्रमुख तथा सांसदहरुले बिहीबार एक पत्रकार सम्मेलन गर्दै काम सुरु नभएमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार बिराटनगरमा भएको पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, भीम पराजुली, गयानन्द मण्डल, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिंह, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेलीका प्रमुख दिलिप बगडिया, कटहरीका प्रमुख देवराज चौधरीलगायतले तत्कालै काम सुरु नभएमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

हुलाकी राजमार्गको काम ठेकेदारले नगरेको भन्दै उनीहरुले तत्काल सुरु गर्न र त्यसो नभएमा आन्दोलन गर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले बताएअनुसार पटक पटक काम सुरु गर्न भन्दा पनि ठेकेदारले काम अलपत्र रुपमा छाडेका छन् । जसकारण धुलो उड्नेजस्ता विभिन्न समस्याहरु पनि भइरहेको उनीहरुले बताएका छन् ।

तत्कालै काम सुरु नभएमा आफूहरु आन्दोलनमा जाने भन्दै उनीहरुले सम्बन्धित निकायले तत्काल काम सुरु गर्न चेतावनी दिएका छन् ।


क्लिकमान्डु