सम्पत्ति हस्तान्तरण गर्न लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको अनुमतिपत्र खारेज भएको सूचना प्रकाशित गर्दै सम्पूर्ण सम्पत्ति प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति प्राप्त गरेको स्मार्ट टेलिकमले नवीकरणका लागि दस्तुर दाखिला नगरेकाले अनुमति पत्र स्वतः खारेज भएको जनाएको छ ।

स्मार्ट टेलिकमले वैशाख ३ गतेसम्ममा आवेदन दिनुपर्ने थियो । तर,उक्त मितिमा नवीकरणका लागि आवेदन नदिएपछि टेलिकमको लाइसेन्स स्वतः खारेज भएको हो । उक्त कम्पनीले नवीकरण दस्तुरका रुपमा २० अर्ब १३ करोडभन्दा धेरै तिर्नुपर्नेमा ७५ करोड मात्रै तिरेको थियो ।

यसअघि प्राधिकरणले स्मार्ट टेलिकमकको लाइसेन्स स्वतः खारेज भएतापनि १५ दिनसम्म सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

बुधबार भने प्राधिकरणले सूचना प्रकाशित गर्दै स्मार्टको लाइसेन्स खारेज भएको जनाउँदै सम्पूर्ण सम्पत्ति प्राधिकरणलाई हस्तान्तरण गर्न सूचित गराएको छ ।

‘अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम ९१० बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सूचित गरिएको छ ’सूचनामा भनिएको छ ।


क्लिकमान्डु