अर्थतन्त्र पूर्णरुपमा ओरालो लाग्यो, डेढ वर्षमा रोक्न नसके असफल राष्ट्र बन्ने खतरा: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्णरुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको दाबी गरे ।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए ।

‘पूर्णरुपमा अर्थतन्त्र ओरालो लाग्यो । असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने फेरि मुस्लिक हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ’ ओलीले भने, ‘ यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २/४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलव ? तिनको समर्थनमा स्टाटस लेखेर समर्थन गर्दै हिँडनेहरुलाई देशको के मतलब ।’

खनिजजन्य, खानीजन्य उद्योगहरु, उत्पादनहरु ठप्प हुनाको साथै निर्माण व्यवसाय ध्वस्त भएको उनको भनाइ छ । औद्योगिक क्षेत्र बर्बाद भएको र उद्योगहरु बन्द प्रायःको स्थितिमा पुगेको ओलीले बताए ।

निर्यात घटेको र आयातका लागि पैसा नभएको उनले बताए । भन्सार छलेर आयात भइरहेका कारओ राजस्वमा असर परिरहेको उनले बताए ।

‘तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गइरहेको छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ’ ओलीले भने ।

ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने सम्पूरक बजेट ५० प्रतिशत कटौती गरेको बताए ।


क्लिकमान्डु