नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब नाघ्यो



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ र उत्पादन मूल्यका आधारमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने कार्यालयले जनाएको छ । उत्पादन मूल्यका आधारमा अर्थतन्त्र २.१६ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो ।
तर, ६ महिनाको अवधिमा लक्ष्यअनुसार राजस्व संकलन नहुनुका साथैं बजेट खर्च नभएपछि अर्धवार्षिक समीक्षा मार्फत आर्थिक वृद्धिको लक्ष्य घटाइएको थियो।

कार्यालयले अन्तर्राष्ट्रिय बहुपक्षीय दातृ संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियायी विकास बैंक र विश्व बैंकलेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ ।

कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने अनुमान गरेको छ ।

यस्तै, विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् ।

गत आर्थिक वर्षमा कार्यालयले ५.८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकोमा ५.६ प्रतिशत आर्थिक वृद्धि भएको जनाएको छ।

गत वर्ष कार्यालयले नेपालको अर्थतन्त्रको आकार बजार मूल्यमा आधारमा ४८ खर्ब ५२ अर्ब पुग्ने अनुमान सार्वजनिक गरेको थियो । गत वर्ष नेपालको अर्थतन्त्रको आकार ४९ खर्ब ३३ अर्ब पुगेको कार्यालयले जनाएको छ । यस्तै, उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ अर्ब पुग्ने कार्यालयको अनुमान थियो । मंगलबार सार्वजनिक तथ्यांक अनुसार उत्पादन मूल्यका आधारमा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब १२ अर्ब पुगेको छ ।


क्लिकमान्डु