जति छिटो सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने मोडल ल्याउँछ त्यति चाँडो देशको विकास हुन्छ: ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताएका छन् ।

सोमबार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताए ।

जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै देशको विकास हुने उनको भनाइ थियो । नेपालमा पर्यटन पूर्वाधारहरुको कमी रहेको भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दा विकासले गती लिने बताए ।

‘हामीले पर्यटकलाई आकर्षित गर्ने,उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ यहाँको संस्कृति ,कला प्राकृति सौन्दर्य र उहाँको अलौकिक भुगोलको ज्ञानका लागि नेपाल पर्यटक आउने गर्छन् । यस्ता पर्यटक पूर्वाधारको विकास गर्नुपर्छ भन्ने सुझाव छ । यो कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ,त्यति छिटो देशको विकास हुन्छ’ उनले भने ।

अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम भएको उनले बताए । विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलरभन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको उनले बताए ।

नेपालमा प्रकृतिको अपार वरदान रहेको र पर्यटन बढाउन सक्ने असंख्य सम्भावना रहेको बताए ।

सरकार र निजी क्षेत्रको भिजन र इच्छाशक्ति मिसाए र प्रविधि,पुँजी जोड्नसके पर्यटन बिस्तार गर्न समय नलाग्ने ढकालको भनाइ छ ।

सरकारले नीतिमा निजी क्षेत्रसँगको साझेदारीको कुरा गरे पनि सहजीकरणका कुरा कागजी झमेलाले कम नभएको बताए । मौलाकाली केबलकार बनाउन पनि कागजी प्रक्रिया मिलाउन वर्षौं लागेको भन्दै उनले निर्माणको काम १३ महिना नै सकेर संरचना तयार पारिएको बताए ।

सरकारले वातावरण बनाए निजी क्षेत्रले ठूलो लगानी गर्नसक्ने उनको भनाइ छ ।


क्लिकमान्डु