आजबाट दुईतर्फी सञ्चालनमा चीनसँगको तातोपानी नाका



सिन्धुपाल्चोक । चीनसँगको सीमा नाका तातोपानी आजदेखि दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो ।

यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फि सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको हो ।

दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान–प्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रही सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत यसअघिको बैठकमा छलफल भएको थियो ।


क्लिकमान्डु