बन्देजको नीतिबाट शैक्षिक समस्या समाधान हुन सक्दैनः अध्यक्ष पाण्डे



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्नसक्नुपर्ने बताएका छन्।

आईतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको राज्यको नेतृत्व समयानुकुल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरु बन्ने गरेको बताए ।

उनले नेपाली विद्यार्थीको आवश्यक्ताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरु विदेश जाने क्रम बढेको बताए । उनले एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने बताए । उनले नेपालको शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताए ।

पाण्डेको भनाइ जस्ताको त्यस्तै

बहुदल, गणतन्त्र, त्यसपछिका कुराहरु आए । १४ वर्ष जेल बसेको कुरा आए । त्याग, तपस्याभित्र पनि ल्याएको एउटा व्यवस्थाभित्र पनि अब उहाँहरु आउटेडेट हुनुभयो । उहाँहरुले समय र आम जनताको आवश्यक्ता, नेपाली विद्यार्थीको आवश्यक्ताअनुसारको शिक्षा नीति कोर्ने र विश्वविद्यालयबाट त्यही किसिमको शिक्षा दिने सोचमा परिवर्तन नआएको कारणले आम नेपाली विद्यार्थीहरुले हामीलाई अहिले राम्रो शिक्षाको आवश्यक्ता छ । शिक्षा रोजगारीसँगै जोडिन्छ । केही वर्ष यहीँ पढेर पनि त्यही सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकटमा नीतिअन्तर्गत खाडी जानुभन्दा मेरो परिवार सम्पन्न छ, म विकसित हुन्छु भन्ने सोचले नेपाल बाहिर पढ्न जान लागेका छन् । बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समाधान हुन्छ भने राहदानी दिन बन्द गरौँ, सबै नेपालमै बसेर खेतबारी जोत्ने, कलकारखाना चलाउनेतिर लाग्छन् । होइन भने हाम्रो शिक्षाभित्र अन्तर्राष्ट्रिय रुपमा हाम्रा विद्यार्थीले प्राप्त गर्नसक्ने अवसर यही सिर्जना गर्नुपर्छ ।


क्लिकमान्डु