पुस्तौँदेखि परम्परागत आरनको भर
डडेल्धुरा । डडेल्धुराका दलित परिवारका मानिसको पुस्तैनी पेस हो आरन । परम्परागत आरन व्यवसायबाट उनीहरुले गुजारा गरेको वर्षौं भयो । उनीहरु कमजोर आर्थिक अवस्थाका कारण आधुनिक प्रविधि प्रयोग गर्न सक्दैनन् ।
त्यसमाथि बाहिरबाट भित्रिने आधुनिक औजार र घरायसी सामानका कारण उनीहरुको उत्पादन बिक्न छाडेको छ । उनीहरु बिहान–बेलुका हातमुख कसरी जोड्ने भन्ने तनावमा छन् ।
बजारमा दैनिक उपभोग्य सामग्री महङ्गिँदै जानु र आरन तथा डोका, नाम्लाका लागि आवश्यक पर्ने कच्चापदार्थ दुर्लभ हुनाले व्यवसाय नै धरापमा पर्न गएको उक्त समुदायका मानिसको भनाइ छ ।
फलाम पिटेर विभिन्न औजार निर्माण गर्दै आएका आरन व्यवसायीका साथै बाँस र निगालाको कामबाट डोको, नाम्लो तथा सुपोलगायतका सामग्री बनाउने मानिस पनि समस्यामा पर्दै गएका छन् ।
तामा, फलामलगायतका सामग्रीको तुलनामा बजारमा पाइने प्लास्टिकका सामग्री सस्तो हुने र हातले बनाएको सामग्रीका तुलनामा मेसिन तथा आधुनिक प्रविधिबाट निर्माण गरिएका सामग्री आकर्षक हुनाले पुस्तैनी पेसामा निर्भर समुदायका मानिसको पेसा संकटमा परेको हो ।
पुस्तौँदेखि अँगालेको आरन पेसालाई आधुनिकीकरण गर्न युवापुस्ताले पनि चासो दिएका छैनन् । त्यसैले सीप हस्तान्तरण हुन नसक्दा परम्परागत पेसा नै लोप हुने खतरामा छ ।
सल्लाको बोक्राको आगोको लप्कामा ज्यान नै जोखिममा राखेर फलाम पिटेर विभिन्न देवीदेवताका मूर्तिसँगै कृषि औजार बनाउने पेसा सदरमुकामदेखि गाउँघरमा विरलै कायम छन् ।
युवापुस्ताले यो पेसाबाट मेहनतअनुसार फाइदा नदेखेपछि विकल्प रोज्न थालेका छन् भने उमेर पुगेका मानिसले मात्रै परिवारको गर्जो टार्न बाध्यताले परम्परागत आरन तथा डोको, नाम्ला बनाउने पेसा गरिरहेका छन् ।
त्यसमा पनि परिवारको आर्थिक अवस्था कमजोर भएका मानिसले मात्रै यो पेसा अँगालेको पाइन्छ । हातले निर्माण गरेका सामग्री धार्मिक रूपमा राम्रो मानिने र टिकाउ हुने भए पनि मेसिनले बनेका सामग्रीले बजार लिँदा आफूहरू धरापमा परेको सदरमुकाममा आरन व्यवसाय गर्दै आएका नारायण टमटाले बताए ।
नारायणले यो पेसा अँगालेको ६ दशकभन्दा बढी भयो । उनले जिल्ला सदरमुकाममा यो पेसा थालनी गरेको पनि दुई दशक बढी भइसक्यो । ७० वर्ष कटेका नारायण पारिवारिक अवस्था र मानसिक असन्तुलन भएका छोराका लालाबाला हुर्काउन बिहान ७ बजेदेखि साँझ अँध्यारो नपरेसम्म फलाम पिटिरहेका हुन्छन् ।
हप्ता दिन काम गर्दा उनी मुस्किलले एउटा भाँडो बनाउन सक्छन् । हप्ता दिन काम गरेर आकार दिएको सामग्रीको १० देखि १२ हजार मात्रै प्राप्त हुन्छ । त्यसले कोठाभाडा र साँझ–बिहान हातमुख जोर्न धौधौ भइरहेको उनले बताए ।
नारायणलाई यो काममा सघाउन ६० वर्षीया पत्नी भागरथी टमटाबाहेक अरु कोही छैनन् । मानसिक असन्तुलन भएका छोरा र उनकै श्रीमती र नातिनातिना हुर्काउन बाध्य भएर वृद्ध अवस्थामा फलाम तामो पिट्नुपरेको नारायणको दुःखेसो छ । त्यसमा पनि कान्छो छोरा रोजगारीका लागि भारततिर छन् ।
बढ्दो आधुनिक मेसिनबाट निर्मित आयातित औजारले प्रभाव जमाउनुअघि सदरमुकाम र गाउँघरमा आवश्यक पर्ने देवीदेवताका मूर्तिदेखि घरायसी औजार यिनै आरनबाट बन्ने गर्थे ।
विगतमा यो पेसा स्वावलम्बी ग्रामीण समाजको एउटा महत्त्वपूर्ण पाटोका रूपमा रहेको थियो । अब आरन र आरनमा काम गर्ने मानिस दुवै घट्दै गएका छन् । आरनबाट औजार बनाउने प्रविधिमा समयानुकूल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ ।
परम्परागत पेसाले सामान्य पेट पाल्नेबाहेक अरु आर्थिक लाभ केही नभएको उनीहरु बताउँछन् । मेहनत गर्नसके हातमुख जोर्न मिल्ने नत्र भोकै पनि बस्नुपर्ने अवस्था आउने अजयमेरु–१ का जितबहादुर पार्कीले बताए ।
उनले यो पेसाबाट कुनै लाभ लिन नसकेको गुनासो गरे । छोराछोरीलाई राम्रो पढाउन नपाएको उनको दुःखेसो छ । आर्थिक अवस्थाका कारण पेसालाई अधुनिकीकरण गर्न नसकिएको व्यवसायी बताउँछन् ।
मेसिनबाट बनेका सामग्री हातबाट निर्मित सामग्रीभन्दा सस्ता हुन्छन् । देवीदेवताको मूर्ति बनाउन नै हप्ता दिनभन्दा बढी लाग्ने उनीहरूको भनाइ छ । स्थानीय सरकारको आश्वासन मात्रै मिल्ने गरेको तर सहयोग कुनै रूपमा नपाएको पीडा छ ।
आधुनिक मेसिन भित्र्याउन नसक्दा युवा वर्ग यो पेसातिर आकर्षित भइरहेका छैनन् । बरु विदेशतिर जान्छन् । धुवाँ, धुलोका कारणले युवा यो पेसामा लाग्न मान्दैनन् ।
‘पुस्तौँदेखि काम गर्दै आएका हामीसँग सीप छ कला छ तर लगानी छैन,’ उनले भने । देवीदेवताका मूर्तिदेखि घरमा चाहिने सबैखाले आरनबाट बन्ने सामग्री हिजोआज पनि बनाउने गरेका टमटाले बताए । अहिलेका युवाले ध्यान नदिएका कारण पनि यो पेसा संकटमा आएको आरन व्यवसायीको भनाइ छ ।
ज्याला कम आउने तर धेरै मेहनत पर्ने भएकाले परम्परागत आरन पेसा अपनाउन समस्या छ । आरन नहुँदा परम्परागत घरायसी तथा कृषि औजार मर्मत गर्नसमेत समस्या हुने गरेको छ ।
अहिले पनि ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने देवीदेवताका मूर्ति, वाद्यवादनका सामग्री दमाहा, ढोलक, भोक्कर, बिक्कुलका साथै तामाका ताउला गाग्री, खुकुरी, कुटो, कोदालो, हँसियाजस्ता कृषि औजार आरनबाटै बन्ने गरेको नारायण बताउँछन् ।
हाते औजारको माग अहिले पनि ग्रामीण बस्ती र बजारमा धेरै नै छ । आरनबाट औजार बनाउने प्रविधिमा सुधार गरी आधुनिकीकरण गरेर प्रोत्साहित गर्नसके स्थानीय स्तरमा धेरै मानिस स्वरोजगार बन्नसक्ने उनीहरूको भनाइ छ ।