सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्छः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा अध्यक्ष ढकालले करिब ८० प्रतिशत राजस्व र रोजागारी सिर्जना गरेर योगदान पुर्‍याएको भन्दै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका हुन् ।

‘पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्छ । निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन । नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने बाहिर जनतामा भ्रम छ । यस्तो सोचाई परिर्वतन गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘ करिब ८० प्रतिशतजति राजस्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान छ । यो निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्छ ।’

ढकालले निजी क्षेत्रको मनोबल उच्च बनाउने कुरामा कन्जुस्याइ गर्न नहुने उनको भनाइ छ । निजी क्षेत्रलाई प्रोटोकलमा समावेश गर्नु पर्ने उनले बताए ।

‘८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कहाँ हो भन्ने सरकारलाई नै थाहा छैन । यसलाई पनि सरकारले समावेश गर्नुपर्छ । सरकारले कुनै अनुदान र पैसाबिना मोरल रुपमा मनोबल बढ्ने कुरामा सरकारले कन्जुसाई गर्ने त्यस्तो कुरामा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ’ उनले भने ।

पछिल्लो समय निजीक्षेत्र माथि नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको उनको भनाइ छ ।

निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको उनले बताए ।

पछिल्लो समय व्यवसायीमा निराशा देखिएको भन्दै उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराश नबन्न आग्रह गरे ।
पछिल्लो समय रेमिट्यान्स र पर्यटकहरुको आगमनमा वृद्धि, बैंकको तरलता सहज, बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको उनले बताए ।

उनले निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर वृद्धि भएको बताए । सरकार ,राष्ट्र बैंक,बैंर्कस संघ र निजी क्षेत्रको पहलमा ब्याजदर कम हुँदै गएको उनको भनाइ छ ।

त्यस्तै,महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अध्यक्षको नतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरुलाई भेटेर महासंघका मागहरु राखेको बताए ।

महासंघले उठाएका बैंकको ब्याजदर कम गर्ने विषयमा सरकारले काम अगाडि बढाएको उनको भनाइ छ । अहिलेको महासंघको नेतृत्वले आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ६० प्रतिशत स्टिल व्यवसायीहरु कानूनी दायरामा आउन नसकेको बताए ।

ग्रिल तथा स्टिल व्यवसायीले कानूनी रुपमा व्यापार व्यवसाय गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको उनको भनाइ थियो ।


क्लिकमान्डु