चीनसँग आर्थिक संलग्नता र साझेदारी गर्न चाहन्छौंः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माण सहितको हस्तान्तरण समारोहमा प्रधानमन्त्री दाहालले समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताएका हुन् ।

चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्दै प्रधानमन्त्रीले विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताए ।

‘नजिकको छिमेकी, असल मित्र र भरपर्दो साझेदारका रूपमा नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छ । वास्तवमा, चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मार्दै र जारी राख्दै आएको छ, विकासका परिणामहरू प्रदान गर्न र हाम्रा जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने हाम्रो आशा र आकांक्षा हो’ प्रधानमन्त्रीले भने ।

विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न,अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने उनको भनाइ छ ।

डाक्टर र स्वास्थ्यकर्मीलाई ज्ञान, सीपहरू,अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यक रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरे ।

विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन,मानव संशाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकारको सहयोग आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग हाम्रो मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता हो । वास्तवमा, यो सहयोग विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन, हाम्रा मानिसहरूलाई स्वास्थ्य सुविधाहरू प्रदान गर्न, हाम्रो मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न धेरै सहयोगी र आवश्यक भएको छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए ।


क्लिकमान्डु