५ सय र हजारका नोट नछाप्न संसदमा माग



काठमाडौं । ५ सय र १ हजार दरका नोट छाप्न बन्द गर्न माग गर्दै राष्ट्रिय सभामा विषय उठेको छ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले ५ सय र हजार रुपैयाँका नोट छपाई रोकेमा भ्रष्टाचार कम हुने दाबी गरे ।

बुधबार राष्ट्रिय सभाको बैठकमा सदस्य भट्टराईले बजारमा भएको सबै पैसा खिच्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताए ।

‘बजारमा भएका सबै पैसा खिच्ने हो भने केही हदसम्म भ्रष्टाचार रोक्न सहयोग पुग्ने छ’ उनले भने, ‘नेपाल धेरै भ्रष्टाचार हुने देशमा गनिन्छ, त्यसलाई कम गर्ने विकल्प ५ सय र हजारका नोट छाप्न रोक्नु हो ।’

बजारमा लगानी गर्नुपर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, बिचौलियाले बोरामा लुकाएर राख्ने गरेको उनको दाबी छ ।
पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था आएको उनले बताए ।

महालेखापरीक्षाको कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालु खर्च धान्नु पर्ने अवस्था रहेको बताए ।

नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजस्व संकलन अनुपात भारीमात्रामा घटेको, उद्योगी व्यवसायी धरासायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको, सरकारको संचित कोष ५३ अर्ब ९१ करोड १४ लाखले ऋणात्मक रहेको महालेखाको प्रतिवेदनमा रहेको उनको भनाइ छ ।

आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार बहुबर्षिक आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको उनको दाबी छ । सरकारले उत्पादन भन्दा पनि वितरणमुखी कार्यक्रममा बढी ध्यान दिने गरेको देवकोटाको आरोप छ ।


क्लिकमान्डु