गोल्छा ग्रुपले सुरू गर्‍यो नेपालमै सामसङको टेलिभिजन उत्पादन



भैरहवा । नेपालमा सामसङ ब्रान्डको टेलिभिजन उत्पादन सुरू भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र नेपालका लागि कोरियाली राजदूत जोनसङ पार्कले संयुक्त रूपमा उद्योग उद्घाटन गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिकामा उद्योग स्थापना गरी सामसङ टेलिभिजन उत्पादन थालेको हो । गोल्छा ग्रुप सन् २०११ देखि नेपालका लागि सामसङको आधिकारिक विक्रेता रहँदै आएको थियो ।

उद्घाटन कार्यक्रममा मन्त्री रिजालले सामसङले गोल्छा ग्रुपसँगको सहकार्यमा सुरू गरेको टेलिभिजन उत्पादनले आगामी दिनमा अन्य उद्योगमा पनि लगानी आउन सक्ने बताए । `कोरियाली लगानीकर्तालाई उद्योग स्थापना गर्न नेपालका कुनै नियम, कानुनले कठिनाइ छ भने त्यस्ता कानुन संशोधन गर्न हामी तयार छौं,´ उनले भने, `उद्योगको विकास नभई अर्थतन्त्र सुधार हुन सक्दैन । त्यसैले हामी लगानीकर्तालाई सहयोग गर्ने नीति लिन प्रतिबद्ध छौं।´

नेपालका लागि कोरियाली राजदूत जोनसङ पार्कले नेपालमा संसारकै प्रसिद्ध इलेक्ट्रोनिक सामान उत्पादन गर्ने उद्योग स्थापना हुनु गर्वको विषय भएको बताए । अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भइरहेको नेपालमा कोरियाली र गोल्छा ग्रुपको लगानीमा सामसङ टेलिभिजन उत्पादन हुनुले आगामी दिनमा नेपाल उत्पादनमूलक देशको रूपमा विकास हुन सक्ने उनले बताए ।

नेपाल सरकारले औद्योगिक वातावरणमा सुधार गर्दै गए आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी हुनसक्ने राजदूत पार्कले बताए । कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले सहज तरिकाले उद्योग सञ्चालनको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

`उद्योग स्थापनासँगै उत्पादित सामान कहाँ बिक्री गर्ने भन्ने रणनीति पनि बनाउनुपर्छ,´ यादवले भने, `म आफैं पनि उद्योगी भएकाले उद्योग सञ्चालनमा कस्ता समस्या हुन्छन् भन्ने थाहा छ । त्यसैले म भ्यालु एडिसन गर्ने धेरै उद्योगलाई रामग्राम नगरपालिकामा स्वागत गर्न चाहन्छु ।´

अर्थतन्त्र बलियो बनाउन भ्यालु एडिसन गर्न आवश्यक रहेको भन्दै सामसङसँगको सहकार्यमा उत्पादनमूलक उद्योग स्थापना गरिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए । `मेरो हजुरबुवाले राणाकालीन समयमा नेपालको पहिलो उद्योग स्थापना गर्नुभएको थियो, ´गोल्छाले उद्योग उद्घाटन कार्यक्रममा भने, `इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यो स्तरमा यति ठूलो तहमा उद्योग स्थापना भएको पहिलो पटक हो ।´

सामसङ र बजाज मोटरसाइकल एसेम्बलमा गरी हाल उद्योग परिसरमा करिब ४ सय महिलाले रोजगारी पाएको गोल्छाले बताए । आगामी दुई वर्षभित्र १ हजारलाई रोजगार दिने गरी काम गर्ने उनको भनाइ छ ।

कम्पनीले आगामी दिनमा वासिङ मेसिनलगाएतका सामान उत्पादन गर्ने र नेपालमा मात्रै नभई दक्षिण एसियाली बजारमा बिक्री गर्ने गरी काम गर्ने योजना भएको गोल्छाले जानकारी दिए ।

सामसङका दक्षिण एसिया प्रमुख जेबी पार्कले नेपालमा नयाँ टेलिभिजन उद्योग स्थापना गर्न पाउँदा खुसी लागेको बताए । `नेपाललाई उत्पादनमूलक हब बनाउने यो राम्रो अवसर हो, ´पार्कले भने, `यो उद्योग स्थापनाले नेपाल र कोरियाली सरकारको सम्बन्ध थप बलियो बनाउन सहयोग गर्नेछ ।´

गोल्छा ग्रुपले २०२२ अगस्ट २२ मा उद्योग शिलान्यास गरेको थियो भने यही अप्रिल ५ बाट परीक्षण उत्पादन सुरू गरेको थियो। सामसङ कोरियाका प्राविधिकले टेलिभिजनको गुणस्तर यकिन गरेर मात्रै बजारमा सामान पठाउने कम्पनीले जनाएको छ।

अहिले ३२ देखि ८८ इन्चसम्मका सबै डिजाइनका टेलिभिजन उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ। परिक्षण उत्पादन सफल भइसकेकाले अब व्यावसायिक उत्पादन अघि बढाउन चाहेको कम्पनीले जनाएको छ।


क्लिकमान्डु