भौतिक मन्त्रालयको बजेटको सिलिङ ५४ अर्बले घट्यो, १ खर्ब १३ अर्ब बजेट पाउने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयको बजेटको सिलिङ ५४ अर्बले घटेको छ । भौतिकमन्त्री प्रकाश ज्वालाले आज मंगलबार पत्रकारसँगको भेटघाटमा यो वर्षको बजेटको तुलनामा आगामी वर्षको बजेटको सिलिङ घटेर आउने बताए ।

उनकाअनुसार यो वर्ष सरकारले १ खर्ब ६७ अर्ब रुपैयाँको बजेटको सिलिङ तय भएको थियो । तर, आगामी वर्षका ५४ अर्ब घटेर १ खर्ब १३ अर्ब रुपैयाँ बजेट आउने भएको छ ।

उनले बजेटको सिलिङ घटेपनि नयाँ आयोजनाभन्दा भएको योजनालाई सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनेमा जोड दिने बताए । ‘अहिलेको मुख्य समस्या भनेको समयमै आयोजना सम्पन्न नहुनु हो,’ उनले भने, ‘आगामी दिनमा रणनीति अपनाएर कार्य अगाडि बढाउनेछु ।’

त्यसैगरी, मन्त्रालयले आयोजनाको वर्गीकरण गरेको कार्य अगाडि बढाउने उल्लेख गरे । यसका लागि मन्त्रालयले गृहकार्य पनि सुरु गरिसकेको छ । मन्त्रालयले तीनै तहका सरकारले कुन प्रकारको आयोजना कुन तहले गर्ने भन्ने विषयमा विस्तृत विवरण हुनेछ । सोही आधारमा आयोजनाको कार्य अगाडि बढी नतिजामुलक कार्य गर्नेमा जोड दिएको उनले बताए ।

‘एउटै आयोजनाका लागि संघ, प्रदेश र स्थानीय तहको बजेट जाने गरेको पाइन्छ । आगामी दिनमा उक्त समस्या हटाउनका लागि आयोजनाको आधारमा वर्गीकरण गरी बजेट विनियोजन हुनेछ,’ उनले भने ।

साथै, आयोजनाको वर्गीकरण नहुँदा अधिकांश आयोजना वेवारिस र भद्रगोल रहेको पनि जिकिर गरे । त्यस्तै, मन्त्रालयले प्राथमिकताको आधारमा मात्रै काम अगाडि बढाउनेमा जोड दिएको बताए । उनले महत्वका आयोजनाहरु समयमा सम्पन्न नहुने र कम महत्वका आयोजना भने अगाडि सम्पन्न हुने गरेको देखिन्छ । उक्त समस्या समाधानका लागि मन्त्रालयले आयोजनाको प्राथमिकताको आधारमा बजेट विनियोजन गरी अगाडि बढ्ने प्रतिशद्धता जनाए ।

‘कतिपय आयोजना वर्षौ वितिसक्दा पनि सम्पन्न हुन नसकेको अवस्था छ । त्यस्ता आयोजनाको अध्ययन गरी बन्ने हो भने छिटो र छरितो बनाउनेतर्फ केन्द्रित हन्छौं,’ उनले भने, ‘यदि कुनै आयोजना समयमै सम्पन्न नहुने र कम प्राथमिकतामा परेको छ भने ठेक्क तोडेर विकल्पमा ध्यान दिई कार्य अगाडि बढाउनेछौं ।’


क्लिकमान्डु