अख्तियारले निजी क्षेत्र हेर्ने बेला भइसकेको छैन: पूर्वगभर्नर डा. नेपाल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीबी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रलाई हेर्ने बेला भइनसकेको बताएका छन् ।

हालै राष्ट्रिय सभाबाट पारित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८’ लाई संशोधन गर्न बनेको विधेयकको दफा २ को परिभाषा खण्डमा ‘प्रचलित कानुन बमोजिम स्थापित कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज र सोसँग सम्बन्धित अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै संगठित संस्था’लाई सार्वजनिक संस्थाको परिभाषाभित्र राखिएको छ ।

कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज, संगठित संस्था लगायतलाई अख्तियारको अनुसन्धान दायरामा ल्याइनु संविधानको मर्मविपरित हुनुका साथै यस्तो अभ्यासले निजी क्षेत्रलाई निरूत्साहित बनाउने भन्दै चौतर्फ आलोचना भइरहेका बेला पुर्वगभर्नर समेत रहेका डा. नेपालले क्लिकमान्डुसँग कुराकानी गर्दै निजी क्षेत्रलाई अख्तियारको दायरात्रि ल्याउने बेला नभइसकेको बताएका हुन् ।

उनले भने, ‘सार्वजनिक क्षेत्रलाई नै राम्रोसँग हेर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई हेर्ने जिम्मा अख्तियारलाई दिने भन्ने कुरा गर्नु हुँदैन, यो कुन रुपमा र कसरी आयो ? त्यो त थाहा भएन । निजी क्षेत्रमा छिर्न खोज्दा यसको नियतमाथि शंका गर्न सकिन्छ ।’

अख्तियार प्रवेश भएको खण्डमा निजी क्षेत्रमा त्रास पैदा हुने र हालत झनै खराब हुने उनको भनाइ छ ।

‘हाम्रो अर्थतन्त्र विकसित भइको छैन, जसकारण राज्यलाई राजस्व तिरेर जनतालाई रोजगारी दिने व्यवसायीहरुलाई ह्यारेसमेन्ट गर्ने काम गर्नु हुँदैन,’ डा. नेपालले भने, ‘यस्ता विधेयकहरु ल्याउँदा सरकारले धेरै कुराको बिचार पुर्याउँदा राम्रो हुन्छ । अर्थतन्त्र एडभान्स भएपछि त्यो पनि गर्न सकिएला । तर, अहिले बेला भएको छैन ।’

व्यवसायीहरु हतोत्साहित हुने संभावना उच्च भएकाले सरकारलाई सम्बेदनशील हुन उनको सुझाव छ ।

निजी क्षेत्रलाई अनुगमन गर्ने निकाय दुई दर्जन बढी निकाय छन् । उनीहरुलाई सबल र सुदृढ बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।

‘निजी क्षेत्रलाई अनुगमनमाथि अनुगमन मात्रै गरिरहने कि काम पनि गर्न दिने ?’ उनले प्रश्न गरे ।


क्लिकमान्डु