चितवनका दुई स्थानमा मतदान स्थगित



चितवन । जारी उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ को दुई मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि र ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान स्थगित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा उपस्थित हुँदा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले बिरोध जनाएपछि मतदान स्थगित भएको हो ।

अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए ।

नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।


क्लिकमान्डु