५३ प्रतिशत अभिकर्ताको मात्रै इजाजतपत्र नवीकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र लिएका बीमा अभिकर्ताहरुमध्ये ५२.५७ प्रतिशतले मात्रै समयमै आफ्नो इजाजतपत्र नवीकरण गरेका छन् ।

प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा २ लाख २१ हजार ८६६ जना बीमा अभिकर्ताले इजाजतपत्र लिएका छन् । ती मध्ये १ लाख १६ हजार ६३७ जनाले मात्रै इजाजतपत्र नवीकरण गराएका हुन् ।

प्राधिकरणका अनुसार चैत मसान्तभित्रमा जीवन बीमातर्फ १ लाख १४ हजार ९१७ र निर्जीवन बीमातर्फ १ हजार ७२० जना अभिकर्ताको मात्रै लाइसेन्स नवीकरण भएको छ ।

जीवन बीमा कम्पनीका अभिकर्तामध्ये ५२.६१ प्रतिशत र निर्जीवन बीमा कम्पनीका अभिकर्तामध्ये ५०.०७ प्रतिशत अभिकर्ताको लाइसेन्स नवीकरण भएको हो ।

बीमा ऐन, २०७९ मा इजाजतपत्रको अवधि जारी भएको मितिले तीन वर्षको हुने उल्लेख छ । उक्त व्यवस्थाअनुसार बीमा अभिकर्ता र सर्भेयरले तीन वर्षपछि मात्रै आफ्नो इजाजतपत्र नवीकरण गर्नुपर्ने छ ।

तर, बीमा ऐन, २०७९ लागू हुनुअघि बीमा अभिकर्ता र बीमा सर्भेयरको इजाजतपत्रको अवधि एक वर्षको हुने व्यवस्था थियो । जसअनुसार बीमा ऐन लागू हुनु भन्दा अघि इजाजतपत्र लिएका अभिकर्ताले भने चैत मसान्तभित्रै आफ्नो इजाजतपत्र नवीकरण गर्नुपर्ने थियो । उक्त समयमा इजाजतपत्र नवीकरण नगराएका अभिकर्ताले थप दस्तुर तिरी असोज मसान्तसम्ममा नवीकरण गर्न सक्नेछन् ।

बीमा ऐन, २०७९ गत कात्तिक २२ गतेदेखि लागू भएको थियो । बीमा ऐन लागू भएको मिति पश्चात जारी भएका इजाजत पत्रको अवधि जारी भएको मितिले तीन वर्षको हुने व्यवस्था बमोजिम हाललाई उक्त इजाजतपत्रहरु नवीकरण गर्नु नपर्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणले प्राधिकरणबाट जारी भएका बीमा अभिकर्ता र बीमा सर्भेयरको इजाजतपत्र अनलाइन माध्यमबाट नवीकरण शुल्क भुक्तानी गरी अनलाइन माध्यमबाटै नवीकरण गर्न सकिने व्यवस्था समेत मिलाएको छ । प्राधिकरणले अनलाइन माध्यमबाट नवीकरण शुल्क भुक्तानी गरी इजाजतपत्र नवीकरण गर्ने व्यवस्था चैत ६ गतेदेखि मिलाएको हो । यस्तै, प्राधिकरणको बैंक खातामा शुल्क सोझै भुक्तनी गरेर पनि नवीकरण गर्न सकिने प्राधिकरणले जनाएको छ ।

अभिकर्ताहरुले कम्पनी नपुगिकनै आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्नेछन् । अनलाइन माध्यमबाट आफ्नो लाइसेन्स नवीकरण गर्नका लागि अभिकर्ताहरुले प्राधिकरणको वेवसाइटमा गई इ-सर्भिस तथा अनलाइन पेमेन्ट सर्भेयर तथा एजेन्ट भन्ने अप्सनमा क्लिक गरी नवीकरणको लागि विवरण पेश गर्नुपर्ने हुन्छ । नवीकरण भुक्तानीका लागि प्राधिकरणले कनेक्ट आइपीएस र इ(सेवा बाटै शुल्क तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

बीमा अभिकर्ताले चैत मसान्तभित्र आफ्नो इजाजतपत्र नवीकरण गरि सक्नुपर्ने व्यवस्था छ । नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि एक सय रुपैयाँ र त्यसपछिको चार महिनासम्मको लागि प्रति दिन ५ रुपैयाँ थप दस्तुर तिरी नवीकरण गर्न सकिन्छ । अर्थात असोज मसान्तसम्म इजाजतपत्र नवीकरण गर्न सकिने व्यवस्था छ । असोज मसान्तसम्म पनि नवीकरण नभएका इजाजतपत्र खारेज हुनेछन् ।


क्लिकमान्डु