नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ : प्रधानमन्त्री
तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् ।
बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताएका हुन् ।
‘सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ‘ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले अर्थतन्त्रलाई सुधार गर्ने आफ्नो प्राथमिकता रहेको बताए ।
‘अर्थतन्त्रमा सुधार ल्याउने कामलाई मैले उच्च प्राथमिकतामा राखेको छु । विदेशी मुद्राको सञ्चिति बढेको छ । चोरी पैठारी रोक्न निकै मेहेनत गरिएको छ । राजस्व संकलनमा सुधार आएको छ । भ्रष्टाचार र बेथिति रोक्न धेरै मेहेनत गरिएको छ । रेमिट्यान्स बढेको छ । विकट पहाडी जिल्लामा समेत पाठ्यपुस्तक पुगेका छन् । यी सबै कुरा विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्ने अठोटसहित गरिएको छ’ प्रधानमन्त्रीले भने ।