बाहिरी चक्रपथ आयोजनामा जग्गा अधिग्रहणका लागि मात्रै ३ खर्ब बढी रकम चाहिने



काठमाडौं । बाहिरी चक्रपथ आयोजना निर्माणका लागि आवश्यक जग्गाको अधिग्रहणका लागि मात्रै ३ खर्ब बढी रकम चाहिने देखिएको छ ।

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनले हालको जग्गाको मूल्यअनुसार ३ खर्बभन्दा बढी रकम जग्गा अधिग्रहणमा मात्र खर्च हुने जनाएको हो ।

सरकारले व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका ३ जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित शहर विकास गर्न ७२ किलोमिटर सडक निर्माण गर्ने योजना बनाएको थियो ।

सरकारले उपत्यकामा बसोबार गर्ने मानिसहरुको जनजीवनलाई सहजीकरण गर्ने उद्देश्यले २०५८ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो । तर, उक्त आयोजना घोषणा गरेको २१ वर्ष भइसक्दा पनि अध्ययन बाहेक अन्य कार्य भएको छैन ।

आयोजनामा २०७८/७९ सम्म १४ करोड २२ लाख ६९ हजार खर्च भएको छ । सरकारले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडकको लागि प्रतिआना ५ लाख रुपैयाँको दर राखी २०६०/६१ मा ५६ अर्ब रुपैयाँको लागत अनुमान स्वीकृत गरेको थियो । तर, स्वीकृत गरेपनि आयोजनाले गति लिन सकेको थिएन । जसले गर्दा प्रशासनिक खर्चबाहेक आयोजनाको प्रगति हुन नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

‘आयोजनामा वर्षेनी प्रशासनिक खर्च भए तापनि भौतिक पूर्वाधारको कार्य भएको छैन । बाहिरी चक्रपथ निर्माणको निश्चित ढाँचा र कार्ययोजना पुनरावलोकन गरी लागत र लाभको विश्लेषण गरी कार्यान्वयन गर्नुपर्दछ,’ महालेखाको प्रतिवेदनको उल्लेख छ ।


क्लिकमान्डु