तरलताको अवस्था कागजमा मात्र सुधार हुँदा व्यवसायीलाई ऋण पाउन समस्या: अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।
सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए ।
पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिरहेको उनको भनाइ छ । व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्या परहेको उनले बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरुले सहजरुपमा कर्जा पाउन नसकेको दाबी गरे ।
व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकेको उनको भनाइ छ ।
‘अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ । बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सीमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ । व्यवसायीहरुले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् । परिसंघको सर्वेमा बजारको मागमा संकुचन आएको छ । मागमा ४० देखि ८० प्रतिशतको कमी आएको छ । परिसंघले सरकार र नागरिकहरुलाई वर्तमान आर्थिक समस्याको समाधान गरी सकारात्मक बनाउन पहल गरिरहेको छ । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक छ । सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ । यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाउने काम गर्न खाँचो छ ।’
अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक रहेको उनको भनाइ छ ।