चैतसम्म साँवा ब्याज तिर्न १ खर्ब २३ अर्ब खर्च, सरकारको ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा सरकारले ऋणको साँवा र ब्याज तिर्न १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले आन्तरिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न चैत मसान्तसम्म १ खर्ब २ अर्ब रुपैयाँ र वैदेशिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।
चालू आर्थिक वर्षमा संकलन भएको ६ खर्ब ३५ अर्ब राजस्वको १९.३७ प्रतिशत रकम साँवा र ब्याज तिर्न मात्रै खर्च भएको छ ।
चालू आर्थिक वर्षको बजेट बनाउँदा आन्तरिक ऋणको साँवा र ब्याज फिर्ता गर्न ९० अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको सरकारले विनियोजित बजेटभन्दा १३ प्रतिशत बढी खर्च गरेको छ ।
गत वर्ष बजेट बनाउँदा बढ्दो ब्याजदरलाई नजरअन्दाज गर्दै रकम विनियोजन गरिएकाले आन्तरिक ऋण साँवा र ब्याजको खर्च व्यवस्थापन गर्न कठिन भइरहेको छ ।
चालू आर्थिक वर्षमा सरकारले बाह्य ऋणको साँवा फिर्ता र ब्याज तिर्न ४२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेकोमा ५० प्रतिशत रकम खर्च गरिसकेको छ ।
गत वर्षभन्दा पनि कम राजस्व संकलन नभएर चालू खर्च व्यवस्थापन गर्न समेत कठिन भएकाले ९ महिनाको अवधिमा सरकारले १ खर्ब ६० अर्ब रुपैयाँ ऋण लिएको छ ।
९ महिनामा १ खर्ब ५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको सरकारले ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल सरकारले तिर्नु पर्ने ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । त्यसमा आन्तरिक ऋण १० खर्ब २५ अर्ब र वैदेशिक ऋण ९ खर्ब ८७ अर्ब रुपैयाँ छ ।
पछिल्लो ९ महिनामा थपिएको ऋण समेत जोड्दा चालू आर्थिक वर्षको चैत मसान्तसम्म सरकारको ऋण ऋण २१ खर्ब ७३ अर्ब नाघेको छ ।