महासंघ कोषाध्यक्षको निर्वाचन आज साँझ ५ बजे हुने, सहमतिको प्रयास जारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि कोषाध्यक्षको निर्वाचन आज साँझ ५ बजे हुने भएको छ । निर्वाचित कार्यसमितिले कोषाध्यक्ष चयन गर्ने विधानमा भएको व्यवस्था अनुसार ४ जनाको उम्मेद्वारी परेपछि निर्वाचन हुने भएको हो ।
आइतबार नै निर्वाचन गर्ने भनिए पनि अध्यक्ष चन्द्र ढकालले सहमतिमा चयन गर्नुपर्ने प्रस्ताव राखेपछि चुनावी प्रक्रिया सोमबार बिहान ९ बजेदेखि गर्नेगरी स्थगित गरिएको थियो । बिहानसम्ममा पनि सहमति नजुटेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। महासंघ सचिवालयले सोमबार दिउँसो १ बजे आजै ५ बजे निर्वाचन हुने सूचना कार्यसमितिलाई पठाएको छ ।
‘साँझ ५ बजेसम्ममा सहमति भयो भने चुनाव हुँदैन, नत्र चुनाब हुन्छ,’ महासंघका एक पदाधिकारीले क्लिकमान्डुसँग भने ।
कोषाध्यक्षका लागि प्रबलजंग पाण्डे, निरक केसी, गोपाल खनाल र सन्दीप गाडिया अग्रवालले उम्मेदवारी दिएका छन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहमतिमै कोषाध्यक्ष चयन गर्नुपर्ने पक्षमा छन् । सहमतिका लागि आइतबार उनले आफ्नै निवासमा सम्पूर्ण कार्यसमितिलाई रात्रिभोजमा बोलाएर सहमतिको प्रयास गरेका थिए ।