महासंघ कोषाध्यक्षमा जुटेन सहमति, आज बिहान गर्ने भनिएको निर्वाचन स्थगित



काठमाडौं । आज बिहान ९ बजे हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघ कोषाध्यक्षको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

महासंघको कोषाध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षका लागि प्रबलजंग पाण्डे, निरक केसी, गोपाल खनाल र सन्दीप गाडिया अग्रवालले उम्मेदवारी दिएका हुन् ।

चार जनाले उम्मेदवारी दिएपछि आइतबार नै निर्वाचन हुने भनिएको थियो । निर्वाचनमा जानुभन्दा सर्वसम्मत कोषाध्यक्ष चयन गर्न आइतबार साँझदेखि रातभर प्रयास भयो ।

तर, सहमति जुटेन । निर्वाचनका लागि आज (सोमबार) बिहान ९ बजेका लागि समय तोकिएको थियो । सहमतिको प्रयास पनि भइरहेको थियो । तर, सहमति जुट्न नसकेपछि निर्वाचन नै स्थगन गरिएको हो ।

कोषाध्यक्षको निर्वाचन कहिले गर्ने भन्ने तोकिएको छैन । अर्को सूचनाले निर्वाचनको मिति तोक्नेछ । सहमति जुट्न सकेन भने आजै निर्वाचन हुनसक्ने तयारीमा महासंघ रहेको बुझिएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहमतिमै कोषाध्यक्ष चयन गर्नुपर्ने पक्षमा छन् । सहमतिका लागि आइतबार उनले आफ्नै निवासमा सम्पूर्ण कार्यसमितिलाई रात्रिभोजमा बोलाएर सहमतिको प्रयास गरेका थिए ।

तर, राति ११ बजेसम्म पनि सहमति जुटेन । बिहान ९ बजेसम्म पनि सहमतिको प्रयास भएको एक कार्यकारिणी सदस्यले बताएका छन् । सहमतिको प्रयास भइरहेकाले निर्वाचनको समय सारिएको हो । स्रोतका अनुसार अहिले पनि सहमतिका लागि प्रयास भइरहेको छ ।


क्लिकमान्डु