चार बीमा कम्पनीले मात्रै पुर्‍याए पुँजी, कुनको कति ?



काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति) ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो ।

कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा तोकिए बमोजिमको चुक्ता पुँजी कायम गरिसक्न निर्देशन दिइएको थियो । जसअनुसार तोकिएको समय सीमाभित्र ४ वटा कम्पनीले मात्रै न्यूनतम चुक्ता पुँजी पुर्‍याएका हुन् ।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफले मात्रै नियामक निकायले तोके बमोजिमको न्यूनतम पुँजी कायम गरेको छ । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीले पुँजी पुर्‍याएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ माथि छ । जुन नियामकले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको कम्पनी सिद्धार्थ प्रिमियरको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । सगरमाथा र लुम्बिनी जनरल मर्ज भई बनेको कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ  ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मर्जर प्रक्रियामा रहेका कम्पनीलाई तत्काल पुँजी वृद्धिको लागि दबाव नदिईने बताए । हाल जीवन बीमा कम्पनीतर्फ ५ वटा र निर्जीवनतर्फ २ वटा मर्जर प्रक्रियामा छन् । यी कम्पनीहरुले वैशाख महिनाभित्रमा एकीकृत कारोबार गर्ने उनले बताए ।

‘कम्पनीहरु पुँजी वृद्धि गर्न मर्जर प्रक्रियामा छन् । यी कम्पनीहरु सबैले वैशाखभित्र एकीकृत कारोबार गर्ने देखिन्छ,’अध्यक्ष सिलवालले क्लिकमाण्डूसँग भने, ‘एक्चुअरीले गर्ने मूल्याङ्कनमा ढिलाई हुँदा समयमा नै मर्जर प्रक्रिया टुङ्गिन नसकेको हो ।’

मर्जरपश्चात पनि पुँजी नपुग्ने कम्पनीको हकमा २०÷२५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्ने सुविधा कम्पनीहरुलाई दिईने उनको भनाइ छ ।

यस्तै, हालसम्म पनि पुँजी वृद्धिका लागि कुनै पनि योजना नबनाएका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले भने पुँजी बढाउन समय थप गर्न भनि पत्र पठाएको उनले बताए ।

‘नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पुँजी पुर्याउन सकेका छैनन् । समय थप गर्न माग गरेका छन् । विदेशी पुँजी भित्र्याउन खोजिरहेका छौ भनेर पत्र पठाएका छन्,’ उनले भने,‘आफ्नो सम्पत्ति बेचेर भएर पनि पुँजी त पुर्याउनु पर्यो । यी कम्पनीहरुको बारेमा बोर्डले निर्णय गर्ने छ ।’

५ जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा

मर्जर प्रक्रियामा रहेका ९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटाले २ वटामा कायम भई एकीकृत कारोबार थालनी गरिसकेका छन् ।

नियामकले तोके बमोजिमको पुँजी पुर्याउन भन्दै १९ मध्ये ९ वटाले एक आपसमा गाभ्ने तथा गाभिने निर्णय लिएका हुन् । ९ मध्ये ४ कम्पनी २ वटामा कायम भई एकीकृत कारोबार थालनी गरिसकेका छन् । अझै प्राइम, यूनियन र गुराँस, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर प्रक्रियामै छन् । प्राइम, यूनियन र गुराँस, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर प्रक्रियामै छन् ।

मर्जरपश्चात बन्ने हिमालयन लाइफ इन्स्योरेन्स जीवन बीमा कम्पनीतर्फ चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी बन्ने देखिएको छ । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले गत वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । यी कम्पनीहरु एक बराबर एक अनुपातमा मर्जर हुन लागेका हुन् । एकीकृत कारोबारपछि बन्ने कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७२ करोड रुपैयाँ नाघ्नेछ । कम्पनीहरुले वैशाखदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

सिटिजन लाइफको चुक्ता पुँजी २ अर्ब ६२ करोड, सन नेपाल लाइफको २ अर्ब २४ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८० करोड र आईएमई लाइफको २ अर्ब ८० करोड रुपैयाँ छ । यी कम्पनीहरुले सर्वसाधरणका लागि साधारण सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीहरुले आईपीओमार्फत नियामकले तोके बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने प्रक्रिया अघि बढाएका हुन् ।

नेशनलको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजीको १४।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभाश वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघ्ने छ । भने एलआइसीले हकप्रद सेयरमार्फत पुँजी बढाउने प्रक्रिया अघि बढाएको छ । हाल एलआइसीको पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । यस्तै, एशियनको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रुपैयाँ छ ।

४ निर्जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा, कुनको कति पुग्छ पुँजी ?

हालसम्म १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन्  । मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये आठ निर्जीवन बीमा कम्पनी चार वटामा कायम भएर एकीकृत कारोबार थालनी गरेका छन् । चार कम्पनी मर्जर प्रक्रियामा छन् । यस्तै, अजोड, यूनाइटेड र प्रुडेन्सियल, आईएमई जनरल भने मर्जर प्रक्रियामा छन् ।

आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई बन्ने ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड पुग्ने छ । जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा बढी हो । कम्पनी निर्जीवन बीमा कम्पनीमा चुक्ता पुँजीका आधारमा ठूलो कम्पनी बन्ने छ ।

अजोडले प्रभु इन्स्योेरेन्ससँग भएको मर्जर सम्झौता तोड्दै पुनः यूनाइटेडसँग मर्जरमा जाने सम्झौता गरेको छ । प्रभुसँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग पुस २६ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । युनाइटेड र अजोडबीच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको थियो । यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स’ हुनेछ ।

यस्तै, एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ अर्ब ४८ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ छ ।

मर्जरमा गएकालाई हकप्रदको सुविधा

मर्जर प्रक्रियामा रहेका र मर्जरपश्चात एकीकृत कारोबार गरेका कम्पनीहरुलाई प्राधिकरणले हकप्रद सेयर जारी गर्न पाउने सुविधा प्राधिकरणले दिएको छ ।

मर्जर प्रक्रियामा गएका महालक्ष्मी लाइफ र प्रभु लाइफको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । मर्जर पश्चात सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सानिमा रिलायन्सको मर्जरपश्चात चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ । सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, मर्जरपश्चात हिमालयन एभरेष्टको चुक्ता पुँजी २ अर्ब ३० करोड कायम भएको छ । सानिमा जिआईसीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यी कम्पनीहरुले हकप्रद सेयरमार्फत पुँजी पुर्‍याउने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु