रंगेलीमा साढे चार करोडमा ६ सय टनको शितभण्डार बन्दै



विराटनगर । मोरङको पुरानो जिल्ला सदरमुकाम रंगेली नगरपालिकामा साढे चार करोड रुपैयाँ लागतमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण हुने भएको छ ।

पछिल्लो समय कोल्ड स्टोर निर्माणलाई तिब्रता दिइएको बताइएको छ । संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको संयुक्त साझेदारीमा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो ।

लामो समयदेखिको स्थानीय किसानको मागको आधारमा रंगेली नगरपालिकाले ६ सय टनको कोल्ड स्टोर निर्माणको काम गरिरहेको नगरपालिकाका योजना अधिकृत कृष्ण भट्टराईले बताए । किसानले उत्पादन गरेको कृषि उपजको ब्यवस्थापन र बजारीकरणमा टेवा पुग्ने उद्देश्यले कोल्ड स्टोर निर्माण गरिएको उनको भनाइ छ ।

सो कोल्ड स्टोरको निर्माण गर्न सात करोड चार लाख चार हजार एक सय ३४ रुपैयाँ लागत अनुमान गरिएको थियो । तर चार करोड ५० लाख ८६ हजार ४ सय ९२ रुपैयाँमा ठेक्का लागेको बताइएको छ ।

कोल्ड स्टोर फाउण्डेशनको काम सकेर अहिले माथिल्लो तलामा काम भइरहेको छ । ‘एक करोड ९९ लाख ८६ हजार रुपैयाँ निर्माणको पहिलो चरणमा भुक्तानी भएको छ ।’ योजना अधिकृत भट्टराईले भने, ‘काम गरेको आधारमा भुक्तानी दिने गरिएको छ । दाप्चा सीम्पानी जेबी दोलखासँग भएको ठेक्का सम्झौता भएको हो ।’

निर्माणाधीन सो कोल्ड स्टोरमा एसीसहितको रुमहरु, त्यहाँभित्र आवश्यक पर्ने सामग्रीहरुको ब्यवस्थापनको काम पनि सोही कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

रंगेली नपाकै आमतोलामा निर्माण गरिएको कोल्ड स्टोर संचालनमा नआएपछि पालिकाले संघ र प्रदेशसँग समन्वय गरेर पालिकासमेतको लगानीमा शित भण्डार निर्माणका कामको थालनी भएको थियो ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गान्धी तुलसी स्मारक चर्खा महागुठीमा २०६६÷०६७ मा शित भण्डार निर्माणको गर्न बजेट ल्याएका थिए । भारतीय दूतावासको सहगोगमा जिल्ला विकास समितिमा उपलव्ध सो रकम तत्कालीन जिविसले सो चर्खा महागुठीको खातामा जम्मा गरेकोे थियो ।

भारतीय दूतावासले पठाएको रकमबाट संरचना निर्माणको काम भएपनि महागुठीले रकम नहालेपछि शित भण्डार अलपत्र परेको थियो । कति रकम आयो भन्ने एकिन भएको थिएन । तरपनि आमतोलामा कोल्ड स्टोर बनाउने काम महागुठीले गरेको थियो तर त्यो कोल्ड स्टोर संचालन भएन । भवन बनेपनि त्यहाँ भित्रको सामग्री प्रयोगमा नआएर रोकिएको थियो ।

शुरुमा रंगेली नगरपालिकाले त्यही भवनमा शित भण्डार संचालन गर्ने भनेर अध्ययन गरेको भएपनि पछि प्राविधिक रुपमा धेरै महँगो पर्ने भएपछि आफ्नै भवन निर्माण गरेर शित भण्डार शुरु गर्ने निर्णय गरेको पुगेको बताइएको छ ।

कोल्ड स्टोर बनेको पुरानो ठाउँमा संचालनको लागि महँगो पर्ने देखियो । त्यसपछि छुट्टै स्थानमा शित भण्डार निर्माण सुरु गरिएको छ । यो कोल्ड स्टोर निर्माणमा संघ र प्रदेश सरकारसँग समन्वय गरिएको भएको रंगेलीका मेयर दिलीप अग्रवालले जानकारी दिए ।

‘पहिला बनेको आमतोलाको भवनमा वार्षिक दुई लाख रुपैयाँ भाडा तिर्ने गरी २५ वर्षको लागि नगरपालिकाले लिजमा लिने भन्ने थियो, मेयर अग्रवालले भने, संरचना ब्यवस्थापन गर्नको लागिमात्र सात करोड ५० लाख रुपैयाँ लाग्ने भएपछि नगपालिका आफैँले काम थालेको हो ।’

सुरुमा शित भण्डार निर्माणको लागि संघीय सरकारले एक करोड चार लाख रुपैयाँ अनुदान दिएको थियो । शित भण्डार निर्माणको लागि प्रदेश सरकारले तीन करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता अनुसार १ करोड ५० लाख रुपैयाँ भैसकेको छ भनेँ बाँकी एक करोड ५० लाख रुपैयाँ चालू आर्थिक वर्षमा निकाशा हुने पालिकाले विश्वास गरेको छ । निर्माणको काम २०८० असार मसान्न्तसम्म सक्ने गरी अहिले दु्रत गतिमा काम भइरहेको बताइएको छ ।


क्लिकमान्डु