अनावश्यक खर्चलाई निर्ममताका साथ कम गर्ने छौं: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अल्पकालीन र दीर्घकालीन सोचका साथ योजना बनिरहेको बताएका छन् ।
अनावश्यक खर्चलाई निर्ममताका साथ कम गर्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले अर्थतन्त्र अहिले केही दबाबमा रहेको बताए । ‘हामी सबैलाई थाहा छ, हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अफठ्याराहरु सिर्जना भएको छ । सरकार, अर्थमन्त्रालय र मैले यसलाई गम्भीरताका साथ लिएका छौं’ उनले भने ।

यद्यपी, समग्रमा एकदमै निराश हुनुपर्ने कारण नभएको उनले बताए ।

‘बाह्य सञ्चिति राम्रो छ । हाम्रा युवाहरु जो विदेशमा गएका छन्, उहाँहरुकै योगदानले गर्दा रेमिट्यान्सले गर्दा । अन्तराष्ट्रिय माहोलमा पनि ४ प्रतिशतभन्दा बढि आर्थिक बृद्धि छ । धेरै देशहरुमा त्यो अवस्था छैन । अन्तराष्ट्रिय परिस्थिति, युद्धको बादल शान्त भयो भने हामी नेपालमा आर्थिक विकासको जुन समस्या छ, आर्थिक रुपान्तरणको जुन समस्या छ, पुँजी विकासको जुन समस्या छ, उद्योग व्यवसायमा लगानीको जुन समस्याका छन, त्यसलाई हल गरेर अघि बढ्नु पर्छ’ उनले भने ।

समस्या सबैतिर रहेको भन्दै उनले अहिले भएको कमजोरी हटाउँदै जाने बताए । आठ महिना बितेपछि टेन्डर लगाउने भन्दै मन्त्रालयमा फाईल आएको उनले स्मरण गरे ।

ब्याजदर घटाउने, कर्जा तालिकीकरण गर्ने बिषयमा राष्ट्र बैंकसँग कुरा भइरहेको उनले जानकारी दिए । जग्गाको कित्ताकाट खुलाउने विषयमा छलफल भइरहेको भन्दै मन्त्री महतले निर्माणका काम बढाउने र अर्थतन्त्र चलायमान बढाउने गरि काम भइरहेको दाबी गरे ।

अहिले ऋण लिएर तिर्दिन भन्ने सुनिएको भन्दै उनले त्यसो हुन नसक्ने बताए । ‘ब्याज त पर जावस् साँवा पनि तिर्दिन भन्ने हुन सक्दैन । यसमा सरकार स्पष्ट छ’ उनले भने ।

उद्योग नबढी रोजगारि नबढ्ने, रोजगारी नबढी राजस्व नबढ्ने उनको भनाइ छ । विकास निर्माण र पूर्वाधार बनाउन ऋण लिएर मात्रै नहुने मन्त्री महतको भनाइ छ । भूकम्पका समयमा लिएको ऋणको ब्याज तिरिरहेको र अन्य ऋण पनि बढि रहेको भन्दै उनले अब लिने ऋण उत्पादन बढाउनेतर्फ खर्च गर्ने बताए ।


क्लिकमान्डु